सबैलाई पठाउनु होला

काठमाडौं –    मुलुकमा जे जति हवाई दुर्घटना भए त्यसको मुख्य कारणका रूपमा औंल्याइएको छ,  मानवीय त्रुटि। जहाज दुर्घटनापछि विभिन्न समयमा बनेका जाँच आयोग तथा छानबिन समितिले तयार पारेका प्रतिवेदनले पनि ९८ प्रतिशत दुर्घटनालाई मानवीय कमजोरीका रूपमा केलाएको भेटिन्छ।

हेलिकप्टर होस् वा हवाईजहाज पाइलटको गलत निर्णयले गर्दा दुर्घटनामा परेको ती प्रतिवेदनले बुँदागत रूपमा नै केलाएका छन्। तर, ती दोष थोपरिएका पाइलट कोही जीवित नभएकाले प्रतिवेदनमा नै लेखेकालाई मानिन्छ। पाइलट नै दोषी देखिन्छन् ।

नेपालमा हुने गरेका हवाई दुर्घटनालाई लिएर देशभित्र र बाहिरबाट प्रश्नहरू उठ्दै आएका छन्। तर, बारम्बार हुने गरेका हवाई दुर्घटनाका विभिन्न कारण रहेको विज्ञहरू औंल्याउँछन्। भन्छन्, ‘पाइलटको अत्याधिक आत्मविश्वास, उडान मापदण्डलाई बारम्बार नमान्नु, दबाब÷क्षमताको अभाव, प्रतिकूल अवस्थामा सही निर्णय लिन नसक्दा पाइलटबाट मानवीय त्रुटि हुन्छ र दुर्घटना हुन जान्छ। तर, त्यो मात्रै कारण हो भनेर त, भन्न मिल्दैन।’

कुन दुर्घटना कसरी भए त  ?

सन् २०१९ मा ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको एयर डाइनेस्टि हेलिकप्टर दुर्घटना भौगोलिक र मौसमी कारणभन्दा पनि बढी मानवीय त्रुटिका कारण भएको छानबिन प्रतिवेदनले देखाएको छ। यस्तै, सन् २०१९ मा नै लुक्लामा भएको समिट एयरको विमान दुर्घटना, सन् २०१८ को सिमकोटमा भएको मकालु एयर दुर्घटना र सन् २०१८ मा नै भएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनालगायतका छानबिन प्रतिवेदनलाई आधार मान्दा पनि मानवीय त्रुटिलाई प्राथमिकताका साथ औंल्याइएको देख्न सकिन्छ।

तारा एयरको जहाज नै सन् २०१६ मा म्याग्दीमा दुर्घटना पछिको प्रतिवेदनमा भनिएको छ, ‘यो दुर्घटनाको सम्भावित कारण प्रतिकूल मौसमको बाबजुद भिजुअल फ्लाइट रुल्स भीएफआर उडानको क्रममा चालक दलको बारम्बार बादलभित्र प्रवेश गर्ने निर्णय र मौसमी परिवर्तनका कारण परिस्थितिजन्य चेतना गुमाउँदा सामान्य ट्रयाकबाट विचलन हुनु नै दुर्घटनाको कारण भएको आयोगको निष्कर्ष छ।’

तनाव र दबाब

हवाईविज्ञ अच्युतराज पहाडी निजी हवाई कम्पनीका पाइलटलाई उडान घन्टाअनुसार जहाज उडाउन सधैं ‘दबाब’ हुने गरेको बताउँछन्। ‘आजभोलि प्रतिस्पर्धाका कारण जस्तोसुकै मौसममा र जुनै बेला पनि उडानको होडबाजी हुन्छ,’ पहाडी भन्छन्। सन् २०१२ देखि २०१९ सम्मका विभिन्न १६ छानबिन समितिका निष्कर्षले सबैभन्दा बढी मानवीय त्रुटिलाई देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण बताउँछन्।

दुर्घटनाका मुख्य कारणमा वातावरणको स्थिति, मानवीय त्रुटि, संगठनात्मक निर्णय र प्राविधिक त्रुटि हुने गरेकोमा नेपालमा भने मानवीय त्रुटि नै मुख्य हुने गरेको कर्णको तर्क  रहेको छ। डाँडाकाँडाकाबीचमा जहाज उड्नु बाध्यता भए पनि त्यसमा क्याबिन क्रुले तत्कालीन अवस्थामा लिने निर्णयले भूमिका खेल्ने उनी बताउँछन्।

नेपालमा हुने अधिकांश हवाई दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको विज्ञहरूको पनि तर्क रहेको छ। त्यो पाइलट मात्रै नभई प्राधिकरणको पनि लापरबाही हो। मानवीय त्रुटि भन्नाले पाइलटको अत्याधिक आत्मविश्वास, उडान मापदण्डलाई बरम्बार नमान्नु, दबाब, क्षमताको अभाव, प्रतिकूल अवस्थामा सही निर्णय लिन नसक्नु जस्ता पक्षलाई मानिन्छ। यिनमा कुन मानवीय त्रुटिका कारण बढी दुर्घटना हुने भन्ने तथ्यांक भने छैन।

तर, विमानका क्रु सदस्यहरू मुख्य पाइलट, सहायक पाइलट र सहपरिचारिकाको दक्षतामा शंका गर्ने ठाउँ नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन्।  प्राधिकरणले हरेक सूक्ष्म एकाइहरूको चेकजाँचपछि मात्रै क्रु सदस्यलाई अनुमति दिने गरेको बताउँदै क्षेत्रीले दुर्घटना हुने सम्बन्धमा पहिला नै आकलन गर्न नमिल्ने तर्क राख्छन्।

उडान दबाबका कारण पनि दुर्घटना हुने गरेको प्राधिकरण स्रोत बताउँछ। ‘पाइलट दक्ष नहुँदा नहुँदै पनि जहाज उडाउनुपर्छ भन्ने दबाबका कारण नेपालमा विमान दुर्घटना भएका छन,’ स्रोत भन्छ। पाइलटको दक्षताको सवालमा शक्तिको दुरुपयोग गर्ने र माथिल्लो तहबाट नै उडान दक्षताको प्रमाणपत्र दिन दबाब आउने गरेको स्रोतको भनाइ रहेको छ। यसले पनि पाइलटको दक्षतामा असर गर्ने बताइन्छ।

नेपालको हिमाल पहाड र तराई भौगोलिक यर्थाथ हो। यसलाई सार्न पनि सकिँदैन। र, जहाज नउडाउने भन्ने पनि हुँदैन। अहिले त जीपीएस (ग्लोबल पोजिसन सिस्टम) मार्फत उडान हुने हुँदा पाइलटले नै  भौगोलिक र मौसमी अवस्थाका बारेमा जानकारी आफै  पाउने अवस्था रहेको छ। भौगोलिक विकटता र मौसमका बारेमा पाइलट आफैं सचेत हुनुपर्ने र बिग्रिदो  मौसममा जहाज नउडाउने निर्णय गर्ने अधिकार पाइलटलाई दिनुपर्ने हवाई विज्ञ अच्युतराज पहाडीको भनाइ रहेको छ।

हतारोमा, कम्पनी, यात्रु वा अन्य शक्तिको दबाबमा, पूर्वतयारी बिना, मौसमको राम्रो विश्लेषण बिना, अन्य जहाज कम्पनीहरूसँगको प्रतिस्पर्धामा पाइलटले जहाज उडाउने निर्णय गर्दा दुर्घटना हुने गरेको विज्ञ पडाही बताउँछन्। यस्तै, पाइलटहरूको उमेरहदका कारण पनि दुर्घटना हुने गरेको देखिन्छ।

‘पछिल्लो दुर्घटनाको कुरा गर्दा प्रतिकूल मौसमका बाबजुद समिट एयर उडेर अवतरण गर्यो । तर, अनुभवी पाइलट प्रभाकर त्यसमा चुकेका छन् । यसमा उमेरको कारण जोशजाँगरमा कमी भएको पनि हुनसक्छ,’ पहाडीको अर्को तर्क रहेको छ।

भौगोलिक अवस्था

यस्तै, अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले नेपालमा प्रतिकूल भौगोलिक अवस्थाका कारण विमान दुर्घटना हुने गरेको बताएको छ। ‘अस्थिर मौसमी ढाँचाहरू उडान सञ्चालनका लागि एक मात्र समस्या होइन। नेपालको नागरिक उड्डयन प्राधिकरणको २०१९ को सुरक्षा प्रतिवेदनअनुसार, देशको ‘शत्रुतापूर्ण स्थलाकृति’ अर्थात् भौगोलिक वस्तुस्थित पनि पाइलटहरूले सामना गर्ने ठूलो चुनौतीको एक हिस्सा हो।’  ।

बढी दुर्घटना हुने क्षेत्र

प्राधिकरणको सुरक्षा प्रतिवेदन २०२१ को तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी दुर्घटना जोमसोम, लुक्ला, सिमकोट, जुम्ला र डोल्पामा हो। यी विमानस्थल आईकाओको मापदण्डअनुसार सञ्चालनमा आएका पनि छैनन्। र, आउन पनि नसक्ने तर्क प्राधिकरणका प्रवक्ता कर्णको भनाइ रहेको  छ। कर्ण उदाहरण दिन्छन्,  ‘हवाई ढुवानी गरेर यी स्थानमा खाद्यन्नलगायतका अतिआवश्यक वस्तु पठाइन्छ। संसारमा कतै पनि हवाई ढुवानी गरेर खाद्यन्न पठाउने गरिँदैन’ ।

दुर्घटनाका अर्को कारणमा संगठनात्मक निर्णय पनि पर्छ। कुन पाइलटलाई पठाउने, उनीहरूको ट्रेनिङ, सही व्यक्तिको भर्ना, जहाज र क्षेत्रको छनोट सबै संगठनात्मक निर्णयमा पर्छ। सम्बन्धित वायुसेवा कम्पनीहरूले पुराना र अनुभवी भनेर पठाएका व्यक्तिबाट नै सबैभन्दा बढी दुर्घटना हुने गरेको छ। अनुभवसँगै कार्यदक्षताको मूल्यांकन गर्नुपर्ने भनाइ हवाई विज्ञ अच्युतराज पहाडीको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com