काठमाडौं – पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरे । सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका छन् ।
सञ्जयले लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरेंको हो । अब बाँकी तपाईंहरुको साथ र विश्वास ।’
यसअघि उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए । उनी गत मंसिरमा मात्र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गरेका छन् ।
पार्टीले टिकट नदिए पनि आफू स्वतन्त्र रुपमा उठ्ने उनले जनाएका छन् । सन् १९९२ मा श्रेष्ठले निर्माण गरेको क्रसरोड ब्यान्डको चर्चित गीत ‘माया मेरी माया’ले उनलाई हिट तुल्याएको थियो ।

