सबैलाई पठाउनु होला

काठमाडौं –   ‘आहा ! त्यो बेला कस्तो कञ्चन थियो बागमती। पौडी खेल्दा त कम्ता आनन्द आउँदैनथ्यो।’

गौशालाकी डा. माला खरेल यसरी आफू बालकै छँदाको बागमती नदीको स्मरण गर्दा आनन्दानुभूति गर्छिन्। तर, अहिलेको अवस्थाले भावुक बनाइहाल्छ। ‘म बागमतीको छेउमै जन्मिएर हुर्केकी हुँ। अञ्जुलीले धित मर्ने गरी बागमतीको स्वच्छ पानी पिउँथ्यौं। अहिलेका पुस्ताले खोलामा पौडी खेल्न र नुहाउन पाएका छैनन्।

नदी प्रदूषित भयो।’ पुरानै स्वरूपको बागमती हेर्न तीव्र इच्छा छ। जसकारण उनी बागमती सफाइ अभियन्ता भएर काम गरिरहेकी छन्। काठमाडौं उपत्यकाको मध्यभाग भएर बागमती बग्छ। जसमा विष्णुमती, रुद्रमती, हनुमन्ते, टुकुचा (इच्छुमती)लगायत खोला मिसिन्छन्। तर, हिजोआज पानीभन्दा बढी ढल बग्छ। अर्बौं बजेट खर्चिंदा पनि निर्मल पानी देख्न पाइएको छैन।

बागमती सभ्यता जोगाउन सरकारले काम थालेको २८ वर्ष बित्यो। तर, नदी सङ्लो, स्वच्छ हुन सकेको छैन। बागमतीको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्रको बागद्वार हो। जहाँ नदी सफा रहेको  छ। तर, जति दक्षिण आयो त्यति फोहोर र दुर्गन्धित छ। बढ्दो जनसंख्या, अनियन्त्रित सहरीकरण, अव्यवस्थित ढल र फोहोरमैलाको जञ्जालले झन्डै तीन दशकयता नदी प्रदूषित छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको प्रयोगशालाकी माइक्रोबायोलोजिस्ट अञ्जिता राजवंशी सुन्दरीजलबाट गुहेश्वरीसम्म प्रदूषणको मात्रा कम रहेको बताउँछिन्। तर, तिलगंगाबाट अघि बढेसँगै प्रदूषण अत्यधिक  रहेको छ। ‘माथिल्लो भागमा ढल व्यवस्थापन गरिएको छ। तलतिर छैन।

सरकारले काम थालेको
२८ वर्ष
समिति गठन 
२०५१ चैत २८
समिति पुनर्गठन
२०५२ मंसिर ६
बागमती कार्ययोजना स्वीकृत 
२०६६ साउन २७ 
समिति आदेश 
२०७३ माघ ६
सफाइ अभियान सप्ताह 
४७३  

बागमतीमा मिसिने सहायक तथा उपसहायक नदीमा ढल प्रशोधनको काम भइरहेको छ। तर, गति सुस्त  रहेको छ। समितिका सूचना अधिकारी एवं इन्जिनियर कमल अर्यालका अनुसार कोड्कू दोभान, सल्लाघारी, धोबीघाट, गोकर्ण र टुकुचा किनारमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। नदीलाई ढलमुक्त गर्न, किनारमा रहेका धार्मिक, पौराणिक स्थलहरूको संरक्षण, सम्बद्र्धन, मर्मतसम्भार गर्न, किनारलाई हराभरा बनाउन करिडोर निर्माण भइरहेको सूचना अधिकारी अर्याल बताउँछन्।

उनका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि समितिलाई ३ अर्ब ७२ करोड बजेट छुट्याएको छ। चालू आवको बजेट ३ अर्ब ४४ करोड रहेको छ। सरकारले २०५१ चैत २८ गते पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो। कार्यक्षेत्रमा व्यापकता ल्याउन २०५२ मंसिर ६ गते अधिकारसम्पन्न बागमती क्षेत्र ढल निर्माण÷सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति बनाइयो।

२०६५ जेठ २६ मा नाम फेर्दै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति राखियो। मन्त्रिपरिषद्बाट २०६६ साउन २७ मा बागमती कार्ययोजना (२००९–२०१४) स्वीकृत भयो। मन्त्रिपरिषद्को २०७३ माघ ६ गतेको निर्णयअनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदेश आएको थियो।

काठमाडौंमा बसाइँ सरेर आउनेको ओइरो लाग्यो। सहरीकरण भयो। उद्योगधन्दा बढे। फोहोर उत्पादन बढ्यो। तर, त्यसको व्यवस्थापनमा सचेत भएनन् स्थानीयवासी। काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापनमा चुक्दै गयो। जसकारण बागमतीमा मानव मलमूत्रसहितको ढल मिसिँदै गयो। फोहोरमैला सहरका चोकचोक र गल्ली–गल्लीमा थुप्रिँदै पहाडको रूप लियो। जसले बागमती मात्रै होइन राजधानी सहरलाई प्रदूषित बनायो।

बागमतीका सहायक नदीहरू सातवटा छन्। जसमा विष्णुमती, रुद्रमती (धोबी खोला), मनहरा, नख्खु, बल्खु, टुकुचा (इच्छुमती) र बागमती स्वयं छन्। पाँच उपसहायक नदीमा गोदावरी, हनुमन्ते, साङ्ला, महादेव खोला र कोड्कु रहेको बागमती कार्ययोजना (२००९–२०१४)मा उल्लेख  गरिएको छ।

बागमतीले ‘पुनर्जन्म पाउँदै’ 

डा. खरेलको नयाँ पुस्तालाई कलकल बग्ने बागमती नासोका रूपमा दिने चाहना  रहेको छ । उनीजस्ता हजारौं नागरिक हरेक शनिबार बागमती सफाइ महाअभियानमा स्वस्फुर्त रूपमा खट्छन्। स्वंयमसेवी अभियानले ४ सय ७३ हप्ता पार गरेको छ। बीसौं हजार मेट्रिक टन फोहोर निकाली सकिएको डा. खरेल बताउँछिन्।

‘हामीले नदीको सफाइ गर्नुपर्छ। हामीले नगरे कसले गर्छ ? हाम्रो पुर्खा जुन बागमती सभ्यता दिएर हामीलाई जानुभयो। आउने सन्ततीलाई हामी स्वच्छ बागमती दिनै पर्छ। यो उनीहरूको अधिकार पनि हो’, कार्यकारी समिति सदस्यसमेत रहेकी डा. खरेल भन्छिन्, ‘हाम्रै पालामा बागमती नदी नष्ट भयो। नदी त एक प्रकारले मरिसकेको थियो। हामीले सफाइ गरेर पुनर्जन्म दिएका छौं।’

काठमाडौंमा बसाइँ सरेर आउनेको ओइरो लाग्यो। सहरीकरण भयो। उद्योगधन्दा बढे। फोहोर उत्पादन बढ्यो। तर, त्यसको व्यवस्थापनमा सचेत भएनन् स्थानीयवासी। काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापनमा चुक्दै गयो। जसकारण बागमतीमा मानव मलमूत्रसहितको ढल मिसिँदै गयो।

प्रदूषणले जलवायु परिवर्तन 

विज्ञ रामदयालप्रसाद यादवका अनुसार नदी प्रदूषित भएपछि जलवायु परिवर्तनको असर बढेको छ। जुन बेला फुल्नुपर्ने फूल र लाग्नुपर्ने फल नलागेर कि अगाडि कि पछाडि भइरहेको छ। कीरा प्रशस्तै लागिरहेको छ। बिरुवाले उचाइ लिन सकेको छैन।

‘पहिले–पहिले चैत–वैशाखमा खोलामा पानी बग्दैनथ्यो। फोहोरको लेदोले पानीको मुहान छोपिन्थ्यो’, वनस्पत्ति विज्ञ यादव सम्झिन्छन्, ‘अहिले बागमतीमा पानी पनि बढेको छ।’ पहिलाभन्दा पानीको गुणस्तरमा सुधार भइरहेको उनी सुनाउँछन्। ‘चार वर्षअघि खोलामा माछा भेटिँदैनथ्यो। अहिले माछाहरू देखिन थालेको छ। पानीको क्वालिटी बढ्दै गइरहेको छ,’ उनी भन्छन्।

समितिले खोलाको दायाँबायाँ ढल ओच्छ्याउने, तट्बन्ध बनाउने, बगैंचा, सडक बिस्तार,  ढल प्रशोधन, वृक्षरोपणको काम गर्दै आएको छ। गोकर्णबाट चोभारको सुन्दरघाटसम्म दुवै किनारमा ३६ किलोमिटरमा ढलको पाइप बिच्छाउने काम भएको छ। सूचना अधिकारी अर्यालका अनुसार चोभारको धोबीघाटमा खानेपानी मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयबाट ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ।

७० प्रतिशत काम सम्पन्न भएको छ। त्यहाँ तिलगंगाबाट बिष्णुमती, रुद्रमती (धोबी खोला)को बस्तीका ढल प्रशोधन केन्द्रमा पुग्छन्। त्यहाँबाट प्रशोधित ढल मात्रै बागमतीमा पुग्छ। पशुपतिभन्दा माथि र गोकर्णबाट तलको क्षेत्रको ढल प्रशोधन गरेर मात्रै नदीमा पानी पठाउने गरिएको छ।

बागमतीमा माथिल्लो भागबाट ४० प्रतिशत र मनोहरा नदीले ६० प्रतिशत पानी रिचार्ज गर्छ। ‘माथिल्लोभन्दा तल्लो क्षेत्रमा साना नदी मनोहरामा मिसिँदै त्यो बागमतीमा मिसिएको छ। मनोहरामा हनुमन्ते, कर्मनाशा, गोदावरीलगायत मिसिन्छन्। यी नदी किनारमा ढलको पाइप लाइन छैन।

केही ठाउँमा मात्रै ढलको पाइप ओछ्याउने सुरुवात भएको छ। ढल प्रशोधन नगरीकन नदी सफा हुँदैन। आयोजना निर्देशनालयबाट सल्लाघारीमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। कोड्कू दोभानमा पनि ढल प्रशोधन केन्द्र बन्दै छ।

ढल प्रशोधन केन्द्र सञ्चालनपछि काठमाडौं उपत्यकाको वातावरण क्षेत्रमा व्यापक सुधार हुने सरोकारवाला बताउँछन्। गुहेश्वरीको ढल प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएपछि दैनिक ३२.४ मिलिलिटर पानी नदीमा जाने जनाइएको छ। यसले नदीको बहाव बढाउने इन्जिनियर अर्याल बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com