सबैलाई पठाउनु होला

भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ ।

छोराछोरी पढाउन गाउँदेखि काठमाडौं आएकी ओखलढुंगाकी मुना दयाल भनिने सम्झना विश्वकर्माले आफूमाथि घर भाडामा लिने क्रममा जातीय भेदभाव र अपमान भएको भन्दै बुधबार प्रहरीकोमा जाहेरी लिएर पुगेकी थिइन् । तर, फौजदारी र सरकारवादी हुने सो मुद्दामा प्रहरीले पीडितको जाहेरी लिनै अस्वीकार गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४, मूलपानीकी कविता रायमाझीको घरमा कोठा भाडामा लिएर बस्न लागेकी विश्वकर्मालाई रायमाझी परिवारले उनी दलित भएको थाहा पाएपछि घरमा डेरा बस्न नमिल्ने बताएका थिए ।

त्यसपछि विश्वकर्माले आफूमाथि जातीय भेदभाव र छुवाछुत कसुर भएको जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले जाहेरी लिन नमानेको र पीडकका कुरा सुनेपछि मात्रै जाहेरी लिने भनेर फर्काएको पीडित विश्वकर्माले बताइन् ।

‘म माथि कोठा सर्ने क्रममा जातीय भेदभाव भएको छ । त्यही कुरा उल्लेख गरेर मैले जाहेरी लिएर गएकी हुँ,’ उनले भनिन्, ‘तर सरकारवादी हुने यो मुद्दामा प्रहरीले जाहेरी नै लिन मानेन । यसबाट प्रहरीको यो मुद्दाप्रतिको संवेदनशीलता प्रष्ट हुन्छ । जाहेरी नै नलिने प्रहरीले मलाई न्याय दिलाई दिन्छ भनेर मैले कसरी विश्वास गर्ने ?’
प्रहरीले प्रक्रियाअनुसार जाहेरी दर्ता गर्न नमानेपछि पीडित सम्झनाले ठाडो निवेदन दिएर फर्किएकी छिन् । प्रहरीले निवेदनका आधारमा पीडकलाई बोलाउने र दुवै पक्षको कुरा सुनेपछि मिलापत्र नभएमात्रै मुद्दाको प्रक्रिया अघि बढाउने भनेको छ । जबकि फौजदारी मुद्दामा पीडितले उजुरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने हो ।

‘कानुनले जातीय भेदभावको मुद्दालाई फौजदारी कसुरमा सूचीकरण गरेको छ । तर, यहाँ प्रहरीले यसलाई सामान्य झैझगडाको मुद्दाको रुपमा लिएर मिलापत्र गराउनुपर्नेझैँ ठानेको देखिन्छ,’ अधिवक्ता ददेलले भनिन्, ‘प्रहरी पीडितलाई तर्साउने, पीडकलाई बोलाउने र मिलापत्र गराउने बाटोमा अघि बढेको छ । यो परम्परागत प्रवृत्ति हो । यसले प्रहरीको नियतमा खोट प्रष्ट हुन्छ ।’

यता प्रहरीले भने जाहेरी दर्ताकै लागि अस्वीकार नगरेको दाबी गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले प्रहरीले दुवै पक्षका कुरा सुनेपछि मात्रै मुद्दालाई अघि बढाउन चाहेको बताए ।

‘यो भावनात्मक कुरा हो । यसका अरु प्रमाणहरू हुँदैनन् । हामीले साँच्चै अवस्था के हो भनेर बुझ्न खोजेका हौँ,’ उनले भने, ‘यदि उहाँले भनेजस्तै अवस्था हो भने हामीले आनाकानी गर्ने कुरा छैन । हामी जातीय भेदभाव तथा छुवाछुत कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अघि बढाउँछौँ ।’

उनले आरोपितहरूसँग त्यसबारे थप बुझ्ने काम भइरहेको र त्यसपछि दुवै पक्षलाई झिकाएर छलफल गर्ने बताए ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि प्रहरीकै दबाबमा पीडितले प्रहरीमा दिएको निवेदन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com