सबैलाई पठाउनु होला

विराटनगर –    प्रदेश १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको घरनजिक शुक्रबार बिहान शंकास्पद वस्तु भेटिएको छ ।

नेकपा (एमाले)का नेता कार्कीको झापाको गौरादह नगरपालिका–३ स्थित घरअगाडि बिहान ५ :३० बजेतिर प्रेसर कुकरमा तार बेरेर बाहिर निकालेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो  ।

प्रहरीका अनुसार घरदेखि ३०–४० मिटरको दूरीमा भेटिएको प्रेसर कुकरमा तार राखेर बाहिर निकालिएको थियो  । शंकास्पद वस्तु फेला परेको नजिकको घर एमाले झापाका अध्यक्ष दीपक कार्की पनि बस्दै आएका थिए । दीपक दाजु र हिक्मत भाइ हुन् ।

हिक्मतको घर साविकको महारानी झोडामा पनि रहेको छ । गौरादह बजारमा रहेको दाजु–भाइको सगोलको घरमा भने नक्कली बम ‘होक्स’ भेटिएको थियो  ।पूर्वमन्त्री कार्कीले घरअगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई जानकारी गराएका थिए।

उनले फेसबुकमार्फत पनि शंकास्पद वस्तु भेटिएको भनेर सार्वजनिक गरेका छन्  । बिहान करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले उक्त वस्तु छाडेर गएको हुनसक्ने बताइएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार शंकास्पद वस्तु रहेको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको जानकारी दिएका छन् ।

घटनास्थललाई प्रहरीको सुरक्षा घेरामा राखेर शंकास्पद वस्तुलाई निस्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोली   बोलाइएको थियो। घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त कुकरभित्र राखिएको वस्तु बम नभएर ‘होक्स’ रहेको जनाएको छ। उक्त वस्तु सेनाले डिस्पोज गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com