सबैलाई पठाउनु होला

मुगु –     आमाको २८ वर्षकै उमेरमा निधन भयो। बुबाले अर्को विवाह गरेको थियो । कान्छी आमाको साथमा भारत पलायन भएका दुवैको अत्तोपत्तो छैन।

पाँच जनामध्ये सबैभन्दा ठूलोको उमेर मात्रै १३ वर्ष रहेको  छ। अरू कलिला भाइबहिनीको स्याहार गर्न मुगु छायानाथ रारा नगरपालिका–११ रोवा गाउँका १३ वर्षीय विसाल दमाई सक्दैनन्। गाउँमा मागेर ल्याएको चामल, पीठो हजुरबुबाले जसोतसो पकाउँछन्।

छाक टरेको छ। दिन कटेको  छ तर, भविष्य अन्योल छ विसालसहित पाँच बालबालिकाको। उनीहरू आमाको निधनपछि बिचल्लीमा रहेका छन् ।

आमा काली दमाईको गत पुस १५ गते उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा मृत्यु भएको थियो। कालीले २८ वर्षकै उमेरमा पाँच सन्तानलाई जन्म दिएकी थिइन्। १३ वर्षीय विसाल, ९ की अस्मिता, ६ का नरेश, ४ की पार्वती र १८ महिनाका श्रीखण्डको अहिले सहारा भनेकै ७४ वर्षीय हजुरबुबा हरियो दमाई रहेका छन् ।

पत्नीको मृत्युपछि पति ४० वर्षीय जसरखर दमाईले दोस्रो विवाह गरे । तर, उनीहरू कलिला नाबालकलाई छाडेर भारत पलायन भएको हजुरबुबा हरियो बताउँछन्। घरमा कमाउने कोही नहुँदा अहिले उनीहरूलाई बिहान–बेलुकीको छाक टार्न पनि मुस्किल परेको छ।

विद्यालयमा पढ्नका लागि अति आवश्यक पाठ्यपुस्तक र कापीकलम नहुँदा पनि उनीहरू बिचल्लीमा परेको फुपू जौमती नेपालीले बताइन्। तीन लाख ऋण गरेर बुहारीको उपचार गर्न काठमाडौं पुर्‍याएर उपचारपछि घर फर्खंदै गर्दा बीच बाटोमै उनमा थप समस्या देखिएको नेपालीले बताइन्।

यसै क्रममा थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ठिनीमा लैजाँदा लैजाँदै काली दमाईको मृत्यु भएको थियो। त्यसपछि पारिवारिक अवस्था झनै बिग्रिएको जौमती बताउँछिन्। दमाईको सम्पत्तिको नाममा दुई हलमा जोतिसकिने पाखोबारी छ।

घरमा काम गर्ने मान्छे कोही नभएपछि त्यो पनि बाँझिएको छ।  १८ महिने नातिबाहेक अरू चारजना स्कुल जाने भए पनि किताब कापी झोला नभएर खाली हात नै स्कुल जाने गर्छन्। उनको ठूलो नाति कक्षा ६ मा पढ्छन् भने अरू सबै कक्षा १ का विद्यार्थी हुन्।

आफूसँग पैसा नहुदा कसैलाई पनि कापी, कलम र झोला किन्न नसकेको हजुरबुबाले बताए। ‘म आफैं पनि बेला–बेलामा बिरामी हुन्छु। बिरामी परेका बेला नातिनातिनाहरू भोकै हुन्छन्’, उनले भने। ‘हामीलाई बुढा हजुरबुवाले हेर्नुहुन्छ’, जेठो नाति विसाल दमाईले भने, ‘हामी चार जना विद्यालय जान्छौं। तर, हामीसँग लेख्ने कपी, कलम, झोला र विद्यालयको पोसाक किन्ने पैसासमेत नभएकाले खाली हात नै जानुपर्ने बाध्यता रहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com