सबैलाई पठाउनु होला

धवलागिरि –    धवलागिरि क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने लक्ष्यसहित यहाँ निर्माणाधीन मानवसेवा आश्रमको भवनका लागि स्थानीय तहले आर्थिक सहयोग गरे । आश्रम निर्माणमा हातेमालो गर्नेमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी र पर्वतका पालिका समेत छन् ।

बागलुङ नगरपालिकाद्वारा जग्गा व्यवस्थापन र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत रु ५० लाख बजेटको सुनिश्चितता भएपछि गत आवदेखि आश्रमको भवन निर्माण थालिएको थियो । बागलुङ नगरपालिका–४ निरयघाटमा बन्न लागेको आश्रमका लागि चालु आवमा सोही मन्त्रालयबाट रु ५० लाख बजेट छुट्टिएको हो  ।

स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहबाट पनि आश्रम निर्माणमा सहयोग जुटिरहेको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले बताउनुभयो । उहाँका अनुसार केही स्थानीय तहले आउँदो आवको बजेट तथा कार्यक्रममै समेटेर आश्रम निर्माणका लागि रकम विनियोजन गरे  ।

बागलुङको ताराखोला गाउँपालिकाले रु १२ लाख, बागलुङ नगरपालिकाले रु आठ लाख, गलकोट नगरपालिकाले रु पाँच लाख र निसीखोला गाउँपालिकाले रु एक लाख छुट्टाएको छ । बरेङ गाउँपालिकाले रु छ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

आउँदो आवका लागि म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रु पाँच लाख र बेनी नगरपालिकाले रु चार लाख बजेट आश्रम निर्माणलाई विनियोजन गरेको छ । चालु आवमा बागलुङ नगरपालिकाले रु १२ लाख ५० हजार, जैमिनी नगरपालिकाले रु १२ लाख, निसीखोला गाउँपालिकाले रु एक लाख, म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रु दुई लाख र पर्वतको जलजला गाउँपालिकाले रु दुई लाख बजेट उपलब्ध गराए  ।

“तीनै जिल्लाका स्थानीय तहले हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन्, केहीले बजेटमै उल्लेख गरेका छन्, कसैले सहयोगको प्रतिबद्धता जनाएका छन्”, अध्यक्ष खड्काले भन्नुभयो, “धवलागिरिलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सबैको साथ, सहयोग मिलिरहेको छ ।” सङ्घ सरकारमार्फत भने अहिलेसम्म कुनै आर्थिक सहयोग नआएको उहाँको भनाइ रहेको छ ।

आश्रमलाई स्वेच्छिक रुपमा व्यक्तिगत सहयोग गर्ने दाता पनि जोडिन थालेका छन् । मानवीय सेवाको पवित्र उद्देश्य राखेर आश्रम बनाउन लागिएकाले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको आश्रमका संयोजक विपना तामाङले बताउनुभएको छ  ।

“बागलुङसहित यस क्षेत्रका जिल्लालाई सडक मानवरहित बनाउन भवन निर्माणले महत्वपूर्ण आधार तयार गर्छ”, तामाङले भन्नुभयो “बजेट अपुग नभएमा आउँदो वर्ष भित्रैमा निमार्ण पूरा गर्ने लक्ष्य लिएका छौँ ।” गत आवमा प्रदेश सरकारलगायत स्थानीय तहबाट प्राप्त बजेटबाट तीनतले भवनको पहिलो तला ढलानसहितको काम पूरा भएको थियो । चालु आवमा भवनको ‘सि ब्लक’ र ‘बि ब्लक’को भुइँ तला निर्माण गरिएको  हो  ।

आश्रमको सबै पूर्वाधार तयार गर्दा रु १२ करोड ७५ लाख लाग्ने अनुमान गरिएको छ । आश्रमका लागि बागलुङ नगरपालिकाले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । सय जना अट्ने गरी भवनभित्रको संरचना बन्ने जनाए  ।

योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । तीनै तहका सरकार, निजी क्षेत्र र दाताबाट स्रोत जुटाएर भवन निर्माणलाई पूर्णता दिइने आश्रमले जनाएको छ । अहिले बागलुङ बजारस्थित एक घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्ने भएको छ ।

आश्रमले सडकमा अलपत्र दिनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनःमिलन गराउँदै आएको छ । अहिले आश्रममा ५१ जना बेसहारा नागरिकले आश्रय लिइरहेको संयोजक तामाङले जानकारी दिनुभएको छ  ।

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com