कर्णाली – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गर्नुभएयो ।
उहाँले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गर्नुभएको हो । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति रहेको थियो ।
जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी पोशाक तथा परिचय पत्र नलगाएर आएको पाइएको मन्त्री रोकायाले जानकारी दिनुभएको छ ।
यातायातमा पुग्नुभएका मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेका समस्याबारे जानकारी लिनुभएको छ ।
सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उहाँ कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गर्नुभएको हो ।
मन्त्री रोकायाले सेवाग्रहीको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिनुभएको छ । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको जनाउँदै उहाँले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटोछरितो ढङ्गको सेवा दिने प्रयास गरेको बताउनुभएको छ ।
कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी गराउनुभएको थियो । मन्त्री रोकायाले टिकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीलाई सुझाउनुभएको हो ।

