तनहुँ – तनहुँका विभिन्न पालिकाका प्रमुखहरूले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताउनुभएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्यसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरूले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्र विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीयस्थलको प्रवद्र्धन र विकासमा काम गर्न इच्छुक रहेको बताउनुभएको हो ।आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीयस्थलको विकास गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘वस्तु आयात गरी बिक्री गर्नुभन्दा उद्योग स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ ।’ ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य सङ्घले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यबाट विकास सम्भव रहेको उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आलेलगायतले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
क्यान्सरपीडितलाई एक लाख २५ हजार सहयोग
क्यान्सरपीडित व्यवसायी बरुण भट्टराईको उपचारका लागि उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । सङ्घ विमलनगर एकाइमा आबद्ध भट्टराईको उपचारमा सहयोग पु¥याउन सहयोग गरिएको थियो ।
उक्त रकम सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार एकाइ सभापतिमार्फत हस्तान्तरण गर्नुभएको हो । क्यान्सरपीडित भट्टराईको काठमाडौँमा उपचार भइरहेको छ । व्यवसायीलाई दुःख परेका बेला केही राहत होस् भन्नका लागि सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको हो ।
सङ्घले स्थापना गरेको भलाई कोषमार्फत उक्त रकम सहयोग गरिएको हो । सो कोषमार्फत सङ्घले बिरामी भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई सहयोग गर्दै आएको छ ।

