काठमाडौँ – सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् या स्वदेशी काठमाडौँ उत्रेपछि एक पटक ठमेल नपुग्ने सायदै होलान् ।
पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व निकै आकर्षण मान्ने गरिन्छ ।
सोही संस्थाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरे । अध्यक्षसहितका पदाधिकारी सदस्यका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
यही असार ३२ गते हुने परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी भविश्वर शर्माले उम्मेदवारी दिनुभएको छ भने अर्का व्यवसायी रामचन्द्र अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
यी दुवै उम्मेदवारले पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
उहाँले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभएको हो ।
आफू अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने अध्यक्ष पदका उम्मेदवार शर्माको प्रतिबद्धता रहेको छ ।
अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला, सुरेन्द्र श्रेष्ठ, प्रश्रय राजभण्डारी र महासचिवमा बद्री तिमल्सिना, सचिवमा स्वजेशमान मालाकार र कोषाध्यक्षमा उज्जल थपलियाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै सदस्यमा चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकार, लालबाबु चौधरी, पूर्णियमा मालाकार, अमृत थोकर इन्दिराकुमारी चौलागाई (गौतम) र तेन्जिङ लामा नै उम्मेदवारी दिनुभएको हो ।
धकिकारी समूहमा उपाध्यक्ष पदमा महेश महर्जन, गीता गुरुङ, राजुमान डङ्गोल, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजुले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

