काठमाडौं गुनासो चौतारी। संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा शक्ति सन्तुलन र समान न्यायको नारा बुलन्द गरिए पनि व्यवहारमा त्यो सन्तुलन सीमित मुठीभित्र मात्र कैद भएको देखिएको छ। राजनीतिक र आर्थिक शक्तिको केन्द्रीयकरण नवधनाढ्य वर्गको हातमा पुग्दा सर्वसाधारण र साना व्यवसायी वर्ग गम्भीर संकटमा परेका छन्।
आर्थिक नीतिहरूको प्रभाव र प्रशासनिक कठोरताले लाखौं साना व्यवसायहरू मर्कामा परेका छन्। व्यवसायिक घाटालाई आर्थिक अपराधको श्रेणीमा राखिँदा ठूलो संख्यामा व्यापारीहरू त्रासमा बाँचेका छन्। कतिपय व्यवसायी कानुनी झन्झट र प्रशासनिक छानबिनको चक्रव्यूहमा अड्किएका छन् भने अरूको पूँजी र रोजगारी जोखिममा परेको छ।
व्यापारी संघ–संस्थाहरूको भनाइमा, सरकारले शक्ति पृथिकरणको भाषण मात्र गरिरहेको छ तर कार्यान्वयनमा सर्वहारा वर्गको पक्षमा कुनै ठोस नीति आएको छैन। उल्टै, कठोर कर प्रणाली, आयस्रोत प्रमाणिकरणको जटिल प्रक्रिया र अनावश्यक कानुनी कारबाहीले लगानी वातावरण कमजोर बन्दै गएको छ।
“यो व्यवस्थाले त हामीलाई उद्यमशीलताबाट बञ्चित पार्दैछ। न घाटा सहन पाउँछौं, न सहज ऋण सुविधा पाउँछौं,” एक साना उद्योगीले दुखेसो पोखे।
विशेषज्ञहरूको चेतावनी छ । यदि वर्तमान नीति र व्यवहारमा सुधार नभए, साना व्यवसायहरूको पलायन मात्र होइन, देशको उत्पादन क्षमता र रोजगारी दरमा दीर्घकालीन क्षति पुग्नेछ। अहिलेकै अवस्थाले धेरै उद्यमीहरूलाई अन्तिम विकल्पका रूपमा विदेश पलायनको बाटो रोज्न बाध्य बनाइरहेको छ।
यो देशमा गरिबको पसिनाले चलेको छ तर सुनको घण्टी ठूलो व्यवसायीको घरमै बज्छ। नियम-कानुन लेख्ने हातहरू पनि त्यही घण्टीको तालमा नाच्छन्। गरिबको व्यापार टोक्ने, सानो पसल बन्द गर्ने, ऋणको जालमा फसाउने यी सबै काम “आर्थिक अपराध”को नाममा सजिलै हुन्छन्। तर ठूलो व्यवसायीको लागि कानुन भने हरेकपटक नयाँ लुगा पहिरिएर आउँछ सजिलो, फितलो, र उनीहरूकै चाहेको।
साना व्यवसायीको अपराध के हो? घाटा हो? असफल हुनु? आफ्नै पसिनाले जोगाएको व्यवसाय गुमाउनु? यी अपराध होइनन्, यी त संघर्षका भाग हुन्। तर जब राज्यका निकायहरूले आर्थिक अपराधको डर देखाएर गरिबको निद्रा चोर्छन् पसिना लुट्छन्, तब त्यो केवल कानुनी अन्याय मात्र होइन मानसिक हिंसा पनि हो।

ठूलो व्यवसाय र बिचौलियाहरूको यो खेलमा धेरै गरिब व्यापारीहरू मानवीय जीवन नै हारि सकेका छन्। कसैले पेट्रोल खनाएर आफ्नै शरीर जलाए, कसैले पासो लगाएर झुण्डिए, कोही खोलामा हामफाले। उनीहरूलाई मार्ने गोली बन्दुकबाट चलेको थिएन यो असमान प्रणालीको अदृश्य गोलीले नै हो।

गरिबको सपना केवल पसिनाले अडिएको हुन्छ, तर त्यो पसिना नै ठुलाको खेलको मैदानमा बगाइन्छ। जबसम्म शक्ति र कानूनको घेरो केवल पैसावालको वरिपरि घुम्छ, तबसम्म गरिबको तबसम्म गरिब साना भई मान्छे शक्तिसँग नजोडिएका हरुले समानताको अनुभूति हुँदैन।
यस्ता व्यथितिका विरुद्ध आफ्नै देशमा केही गर्छु आफ्नै देशमा पसिना बगाउँछु। ठूला व्यापारीहरूको एकाधिकार श्रम शोषण तोड्न आम युवा शक्तिहरू एक ठाउँ उभिएर लड्ने दिन आएको छ। धैर्य गरौँ पक्कै आउँछ।
यस परिस्थितिमा आर्थिक अपराधको परिभाषा पुनरावलोकन, व्यवसायमैत्री नीति निर्माण र शक्ति सन्तुलनको व्यवहारिक कार्यान्वयन अपरिहार्य भएको सरोकारवालाहरूको धारणा छ।

