सबैलाई पठाउनु होला

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे सरकारी कोष दुरुपयोगको आरोपमा पक्राउ परेका छन् । प्रहरीले ७६ वर्षीय विक्रमसिंघेलाई आपराधिक अनुसन्धान विभाग (सीआईडी)को मुख्यालयबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विक्रमसिंघेमाथि सन् २०२३ को सेप्टेम्बरमा आफ्नी पत्नी प्रोफेसर मैत्रीको दीक्षान्त समारोहमा सहभागी हुन इंगल्यान्डको यात्राका लागि सरकारी कोषको प्रयोग गरेको आरोप लागेको छ । उनी एक आधिकारिक यात्रापछि अमेरिकाबाट फर्किंदै गर्दा व्यक्तिगत काम (पत्नीको दीक्षान्त समारोह) का लागि सरकारी खर्चमा बेलायत गएको बताइन्छ ।

यस विषयमा श्रीलंकाको सीआईडीले यसअघि नै उनका कर्मचारीहरूसँग यात्रा खर्चबारे सोधपुछ गरेको थियो । विक्रमसिंघेको पक्राउपछि श्रीलंकामा सार्वजनिक धनको दुरुपयोग गरेको विषयमा शीर्ष नेता र अधिकारीहरूमाथि अनुसन्धान तीव्र हुने अपेक्षा गरिएको छ ।

६ पटक प्रधानमन्त्री बनिसकेका विक्रमसिंघे सन् २०२२ को जुलाईदेखि सन् २०२४ को सेप्टेम्बरसम्म राष्ट्रपति थिए । उनले तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेलाई प्रतिस्थापन गरेका थिए र सन् २०२२ को आर्थिक संकटबाट श्रीलंकालाई बाहिर निकाल्न उनलाई श्रेय दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com