माघ ९, २०८२ | गुनासो चौतारी
काठमाडौँ गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिएका डा. बाबुराम भट्टराईले तत्काल कसैलाई सघाउने औपचारिक प्रतिबद्धता नगरेको स्पष्ट पारेका छन्। तर, विचारसहितको प्रगतिशील लोकतन्त्रमा प्रतिबद्ध व्यक्ति र शक्तिलाई सहयोग गर्न आफू सधैँ तयार रहेको उनले बताएका छन्।
कान्तिपुरसँगको कुराकानीमा भट्टराईले मुख्यतः तीन कारणले उम्मेदवारी दिएको र पछि विभिन्न दल तथा शुभेच्छुकको सल्लाहअनुसार फिर्ता लिएको जानकारी दिए।
‘पहिलेदेखि नै म चुनावी राजनीतिभन्दा बाहिरबाटै योगदान गर्छु भन्ने सोचमा थिएँ,’ उनले भने, ‘तर पछिल्लो समय देशको राजनीति तरल अवस्थामा पुग्यो। राष्ट्रिय स्वाधीनता, भूराजनीतिक सन्तुलन र नीतिनिर्माणका विषय संसद्बाटै सम्बोधन गर्न सकिन्छ भन्ने लाग्यो।’
उनका अनुसार संविधान जारी भएको १० वर्षपछि आवश्यक संशोधन र पुनरावलोकन गर्ने विषय, बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका काम, साथै जेन–जी आन्दोलनसँग भएका सम्झौताहरू कार्यान्वयन गर्न संसद् नै प्रभावकारी थलो हुने ठानेर निर्वाचनमा भाग लिने सोच बनेको थियो।
मनोनयनपछि विभिन्न पक्षबाट एउटै दलको उम्मेदवारभन्दा ‘साझा व्यक्तित्व’को भूमिकामा बस्दा उपयुक्त हुने सुझाव आएको भट्टराईले बताए।
‘जेन–जीले उठाएका विषयहरू व्यापक सहमतिको माग गर्छन्। साझा अभिभावकको भूमिकामा बसेर समाधान खोज्न सकिन्छ भन्ने सुझाव पनि आयो,’ उनले भने।
उम्मेदवारी फिर्तापछि हाल कसैलाई प्रत्यक्ष समर्थन गर्ने निर्णय भने नगरेको उनले स्पष्ट पारे। तर प्रगतिशील लोकतान्त्रिक मूल्य र विचारप्रति प्रतिबद्ध शक्तिलाई सहयोग गर्न आफू खुला रहेको उनको भनाइ छ।
‘प्रगतिशील लोकतान्त्रिक पार्टीले पहिलेदेखि नै मलाई अभिभावकको रूपमा स्वीकार्दै आएको छ। नयाँ वैकल्पिक शक्तिहरूले पनि त्यही रूपमा हेरेका छन्,’ भट्टराईले बताए।
यसअघि काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा झापा ५ का उम्मेदवार बालेन्द्र शाहसँगको भेटबारे सोधिएको प्रश्नमा उनले ठोस प्रस्ताव आएमा सल्लाह–सुझाव दिन आफू सधैँ तयार रहेको प्रतिक्रिया दिए।
भट्टराईले गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट उम्मेदवारी दिएका थिए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो।
गोरखा–२ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ न्यौपाने, रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी र नेकपा एमालेबाट मिलन गुरुङ (मिलन चक्रे) लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

