सबैलाई पठाउनु होला

देश यतिखेर राजनीतिक अराजकता र अस्थिरताको गहिरो दलदलमा फसेको छ। भ्रष्टाचार, व्यथिति, विसंगति, कालोबजारी, ठगी र घुसखोरीले राज्य संयन्त्रलाई कमजोर बनाइरहेको आरोप जनस्तरबाट निरन्तर उठिरहेको छ। भदौ २३ र २४ गते ७६ जना युवाको ज्यान गुमेको दर्दनाक घटनाले सिङ्गो देश स्तब्ध बन्यो, सडकहरू आक्रोशले ताते, र जनविश्वासको जग नै हल्लियो। त्यसयता देश राजनीतिक, आर्थिक र सामाजिक रूपमा अस्थिरताको चपेटामा छ।

यही पृष्ठभूमिमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेतादेखि स्थानीय उम्मेदवारसम्म गागाउँ, टोलटोलमा  मत माग्न व्यस्त छन्। भाषणमा विकासका प्रतिबद्धता, रोजगारीका आश्वासन, सुशासनका प्रतिज्ञा र समृद्धिको सपना बाँडिँदैउँ छ। तर यही बीचमा एउटा कटु यथार्थ फेरि दोहोरिँदैछ नेता गाउँतिर छन्, तर युवाहरू विदेशतिर लागिरहेका छन्।

वैदेशिक रोजगारीका लागि विमानस्थलमा लाग्ने लामो लाइन, पासपोर्ट कार्यालयको भीड, म्यानपावर कम्पनीको चहलपहल यी दृश्यहरू चुनावी नाराभन्दा धेरै बोलिरहेका छन्। रोजगार सृजनामा राज्यको असफलता र निजी क्षेत्रप्रतिको अस्पष्ट नीतिका कारण हजारौँ युवाहरू रोजगारीको खोजीमा खाडी, मलेसिया, कोरिया, जापान र युरोपका देशतिर प्रस्थान गरिरहेका छन्। गाउँमा चुनावी सभा चलिरहँदा घरका कान्छा छोरा विदाइ हुँदैछन्; आमाको आँखामा आँसु छ, तर नेताको भाषणमा आत्मनिर्भर नेपालका ठूल्ठूला वाचा।

भदौको त्यो दुखद घटना केवल जनआक्रोशको विस्फोट मात्र थिएन; त्यो व्यवस्थाप्रतिको गहिरो अविश्वासको संकेत पनि थियो। ७६ युवाको ज्यान गएको पीडाले राज्य संयन्त्रको जवाफदेहिता र नेतृत्वको नैतिकता माथि प्रश्न उठायो। तर त्यसपछि पनि ठोस सुधार, पारदर्शी छानबिन र दण्डहीनताको अन्त्यतर्फ देखिने प्रगति सीमित नै देखिन्छ। जनताले न्याय खोजिरहेका छन्, नेताहरू मत।

फागुन २१ को निर्वाचनलाई दलहरूले परिवर्तनको अवसरका रूपमा व्याख्या गरिरहेका छन्। तर परिवर्तन केवल नाराले होइन, नीतिगत स्पष्टता, संस्थागत सुधार र व्यवहारिक कार्यान्वयनबाट सम्भव हुन्छ। युवालाई देशमै अवसर दिने शिक्षा–रोजगार नीति, उद्योग व्यवसायलाई प्रोत्साहन, कृषिको आधुनिकीकरण, सुशासनको कडाइ र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता यी विषयमा ठोस कार्यक्रमबिना चुनावी उत्साह खोक्रो सावित हुने खतरा छ।

राजनीतिक दलहरूबीचको आरोप प्रत्यारोपले चुनावी माहोल तातिरहेको छ। तर जनताले खोजेको उत्तर सरल छ सुरक्षित जीवन, सम्मानजनक रोजगारी र स्थिर शासन। जबसम्म युवाले देशमै भविष्य देख्दैनन्, तबसम्म विमानस्थलको भीड घट्ने छैन। जबसम्म नीतिमा स्थिरता र नेतृत्वमा विश्वसनीयता आउँदैन, तबसम्म अराजकताको चक्र दोहोरिरहनेछ।

आज गाउँका चोकमा नेताको भाषण गुञ्जिरहेको छ, तर त्यही गाउँका खाली घरहरू मौन साक्षी छन् विदेशिएका युवाहरूको। निर्वाचन लोकतन्त्रको उत्सव हो, तर त्यो उत्सव तब मात्र सार्थक हुन्छ जब मतदाता केवल मत हालेर फर्किँदैन, आफ्नो भविष्यप्रति आश्वस्त पनि हुन्छ।

नेता गाउँतिर दौडिरहेका छन्, तर युवाहरू विदेशतिर उडिरहेका छन्। यही विरोधाभासलाई सम्बोधन नगरेसम्म न त राजनीतिक स्थिरता सम्भव छ, न त समृद्धिको सपना। अबको प्रश्न केवल चुनाव जित्ने होइन देश जित्ने हो, जनविश्वास जित्ने हो, र युवाको भविष्य देशमै सुनिश्चित गर्ने हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com