सबैलाई पठाउनु होला

काठमाडौँ — सडकछेउमै घर छ । सडक धुलाम्मे वा हिलाम्मे जेसुकै होस्, घरभित्र धूलो–हिलो पसिहाल्छ । ‘हिलो र धूलो जे भए पनि समस्या नखेपेको दिन छैन । घरबाहिर त बस्नै सकिँदैन,’ ललितपुर महानगरपालिका–२७ सुनाकोठीकी सम्झना डंगोलले दुखेसो सुनाइन् । उनका अनुसार गत माघदेखि चैत्रसम्ममा सडक कालोपत्र गरियो तर कालोपत्र ४ महिना पनि टिकेन । ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड सडकका खाल्डा देखाउँदै डंगोलले भनिन्, ‘सडक पिच भएपछि धूलो र हिलोबाट मुक्ति पाइएला भनेर खुसी थियौं । अहिले त सडक झन् बिग्रियो ।’ सडकमा बाक्लै खाल्डाखुल्डी छन् । वर्षात्का बेला ती सबै पानीले भरिन्छन् । घाम लाग्दा कुइरीमण्डल हुने गरी धूलो उड्छ । सडकमा सवारीसाधनको आवागमन बाक्लै हुन्छ । सडकछेउका घरहरूका भित्ताको रङ धूलोले छोपिएको छ । ग्राहकले देख्ने गरी राख्नुपर्ने पसलका सामान प्लास्टिक वा कपडाले ढाकेर राख्नुपर्ने बाध्यता बिक्रेतालाई छ । धूलो र हिलोबाट जोगिएर पसलसम्म पुग्न ग्राहकलाई पनि सकस छ । सडकको दूरवस्थाका कारण घरबाट बाहिर निस्कनै नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको सुनाकोठीकी दिलमाया महर्जनले बताइन् । ‘झ्याल खोल्न हुँदैन, धूलो भित्र पसिहाल्छ । छत, बार्दलीमा लुगा सुकाउन पाइँदैन । बिस्कुन पनि सुकाउन पाइएन,’ उनले भनिन् । धूलोकै कारण खोकी लाग्ने, घाँटी दुख्नेलगायत समस्या बढेको उनले सुनाइन् । ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड पुग्ने ९ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । दुई खण्डको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । २०७४ साउन १६ मा ठेक्का सम्झौता भएकामा म्याद सकिसकेको छ । पहिलो खण्ड ढोलाहिटीदेखि सुनाकोठीसम्मको दूरी ३.२ किमि छ । जसमध्ये २.५ किमि खण्ड ललितपुर–२७ मा र बाँकी खण्ड गोदावरी नगरपालिका–१२ मा पर्छ । अहिले धेरै समस्या यही २.५ किमि खण्डमा छ । जसको ठेक्का २०७५ कात्तिक २६ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ जेठ २६ मा दिवा–शैलुङ जेभीले लिएको हो । शैलुङ कन्स्ट्रक्सन सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । २.५ किमिको खण्डमा २०७७ माघ पहिलो साता मात्रै सडक कालोपत्र सुरु भएको थियो । पूरा काम हुन नपाउँदै २०७८ जेठ दोसो साताबाट कालोपत्र भत्कियो । ३ पटकसम्म म्याद थप्दा पनि ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । पहिलो पटकको म्याद २०७५ कात्तिक २६ मा सकिएको थियो । दोस्रो पटक २०७६ असार २५ र तेस्रो पटक थप गरेको म्याद २०७७ पुस २९ मा सकिएको हो । तीनै पटकको म्याद सडक विभागले नै थपिदिएको थियो । सरकारले कोरोना महामारीको असर भन्दै सबै पुराना आयोजनामा ६ महिना स्वतः म्याद थपेको थियो । सडकको उपलब्ध चौडाइमा काम गर्ने भनिएको थियो ।  कालोपत्र भत्किएपछि अहिले पुनः बनाउन थालिएको छ । जसको जिम्मा पनि शैलुङले नै पाएको छ । ललितपुर महानगरपालिका २७ का अध्यक्ष बाबुराज महर्जनले ५ वर्षसम्म २.५ किमि सडक कालोपत्र नहुनु ज्यादै दुःखलाग्दो भएको टिप्पणी गरे । ‘यसैबाट हाम्रो काम गर्ने तरिका र विकासको स्तर थाहा हुन्छ,’ उनले भने । वडाध्यक्ष निर्वाचित भएर आएदेखि नै स्थानीयले आफूसँग सडकबारे निरन्तर गुनासो गरिरहेको उनले सुनाए । ‘ठेकेदारलाई कारबाही गर्ने अधिकार हामीलाई छैन । अधिकार हुन्थ्यो र निर्माण व्यवसायीका फाइलमा सही चल्थ्यो भने सडक नबनाएर हामीलाई दुःख दिएजत्तिकै दुःख तिनीहरूलाई दिने थिएँ,’ महर्जनले भने ।

यसअघि ठेक्का हुनेबित्तिकै निर्माण व्यवसायीले सडकमा पर्ने घर भत्काउन नपाएर काम अघि नबढेको भन्दै टार्ने गरेका थिए । ‘यो सडक हाम्रो निकायअन्तर्गतको होइन तर जनताले दुःख पाएपछि जाने कहाँ ? कसलाई भन्ने ? भनेको कुरा कसले सुन्छ ? उनीहरू आउने भनेको वडामै हो । म जनप्रतिनिधि मात्र होइन, वडावासी पनि हो । अब पनि ढाँटछलको काम गरे ठेकदारलाई वडावासीले छाड्ने छैनन्,’ महर्जनले चेतावनी दिए ।

यो सडक २३ करोड ३१ लाख ४६ हजार रुपैंयामा ठेक्का लगाइएकामा ठेकेदारले ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् । शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी भने अहिले पानी परेर काम थाल्न समस्या भएको बताउँछन् । ‘घाम लाग्नासाथ काम सुरु हुन्छ,’ उनले भने । स्थानीयले रोलर चलाउन नदिँदा समस्या दोहोरिन सक्ने उनको भनाइ छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जे निर्देशन दिन्छ, त्यहीअनुसार काम गर्ने उनले बताए । ‘छिटो काम सक्न हामी लागिपरेका छौं,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com