आफ्नो र तीन वर्षीया छोरीको पनि ज्यान गल्दै गएको उनले सुनाइन् । पहिला जस्तो खेल्दा पनि खेल्दिन । छोरीले पनि असोजदेखि राम्रोसँग भात खाएकी छैन । के पो भयो त्यसै गलेकी छ । पेट पनि सुन्निन लागेको छ,’ उनले भनिन्, ‘मलाई पनि चक्कर (रिंगटा) लाग्दो छ, हातगोडा गल्दा छन् । आँखा पनि राम्ररी देख्दैन । तिरिमिरी हुन्छ ।’उनले भनिन् के भयो ? के भयो ?’ ‘सुइना पनि निका देखिँदैनन् । आमाछोरी दुवै जना पनि मरिहाल्छौं कि जस्तो लाग्ने गरेको बताइन् ।
सोही गाउँकी जानकी विककी ३ वर्षीया छोरीलाई पनि मनपूजाकी छोरीको जस्तै लक्षण देखिएको थियो । २ वर्षको उमेरमै पेट सुन्निन थालेकी उनी असोजयता सुक्दै गएकी थिइन् । स्थानीय जडीबुटीले निको नभएपछि जानकीले छोरीलाई सामुदायिक स्वास्थ्य केन्द्रमा जचाउन पनि लगेकी थिइन् । त्यहाँको औषधिले पनि निको भएन । विस्तारै खान पनि छोडेकी उनको फागुन २५ गते मृत्यु भएको समेत बतायकि छिन ।
महिना पुगेर जन्मिसकेपछि मृत्यु हुने बालबालिकाको तुलनामा प्राकृतिक रूपमै गर्भपतन हुने (गर्भ तुहिने) समस्या झन् चर्को भएको स्थानीय महिलाले बताए । ‘जन्मिएर मर्ने बच्चाभन्दा गर्भ नै खेर जाने पनि कति छन्,’ आफ्नो मात्रै चारपटक गर्भपतन भएको बताउने ४० वर्षीया मरु विकले भनिन्, ‘सालकै दुई/तीन चोटि गर्भ खेर गएका महिला पनि धेरै छन् ।’ ‘पेटभरि खान पाया पो दूध आउँदो हो, सन्तान गुमाउने सबैले एउटै कारण बताए– दूध नआउनु ।’ दुमलीले भनिन्, ‘निस्तै भात र रोटी पनि निकोरी खान पाउँदैनौं, काबाट दूध आउनू ?’
यहाँ उल्लेख गरिएका प्रसंगमात्रै मुक्तिकोट गाउँमा सन्तान गुमाएका आमाको विवरण दिन पर्याप्त छैनन् । साविकको साप्पाटा गाविस–९ मा पर्ने मुक्तिकोट बाजुराको यस्तो गाउँ हो, जहाँ कुनै घरमा यस्तो आमा भेटिँदैनन् जसले सन्तान नगुमाएको होस् । ३२ वर्षको उमेरमा १२ पटक गर्भवती भएर चार वटा सन्तान गुमाइसकेकी जनसरा विक भन्छिन्, ‘यै गाउँमा बच्चा खेर नगयाकी महिला त को होलिन् ? कसैका त ७/८ बच्चा पनि खेर गयाका छन् ।’ २०७८ असारयता मात्रै यो गाउँका १५ बालबालिकाको मृत्यु भइसकेको छ । यसरी ज्यान गुमाउनेमा जन्मेको १ दिने शिशुदेखि १५ वर्षसम्मका किशोरी छन् ।
साविकको साप्पाटा गाविस–९ मा पर्ने गैरा, माझवाडा, खोलासा, भैइसाखाली, मेला, नाउला, खोली, मुक्तिकोट, चुँइकेडाडा, काडेडिल र रल्क्या टोलमा ३ सय ९४ बढी परिवार दलित समुदायको बसोबास छ । सरकारका निकायले यहाँ भइरहेको बालमृत्युको समाधानको पहल गर्नु त परै जाओस्, तथ्यांकसमेत राखेको छैन । ‘दिन, साता बिराएर कसै न कसैका बच्चा मरेकै हुन्छन्, यस्तो रेकर्ड कसैले राखेको छैन, रेकर्ड राखेर साध्य पनि छैन,’ उनले भने, ‘सबै टोलमा गएर बुझ्ने हो भने त यो वर्षमात्रै ३०/४० जना बालबालिका मरिसके होलान् ।’ सबै गाउँमा पुगेर तथ्यांक संकलन गर्ने हो भने यो वर्षमात्रै ज्यान गुमाएका बालबालिका र किशोरकिशोरीको संख्या योभन्दा दोब्बर हुन सक्ने स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि प्राविधिकसमेत रहेका मुक्तिकोटका स्थानीय बलबहादुर विकको भनाइ छ ।
यहाँ मृत्यु भएका बालबालिकाको तथ्यांक कसैले पनि राख्ने नगरेको मुक्तिकोटस्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख उमेश शाहीले बताए । ‘त्यस्तो रेकर्ड त कसैले राख्ने गरेको छैन, टोलटोलमा गएर बुझ्ने हो भने सबै डाटा आउन सक्छ,’ उनले भने । उनले मुक्तिकोटमा कुपोषणको अवस्था भयावह रहेको र कुपोषणकै कारण बालबालिकाले ज्यान गुमाइरहेको जनाउँदै स्थानीयको लापरबाहीका कारण उपचार गराउन समस्या भइरहेको बताए । ‘हामीले एक महिनाअघि मात्रै ४० जना बच्चाको कुपोषण जाँच गर्दा ३६ जना कुपोषित भएको भेट्यौं, तीमध्ये १५ जनामा त निकै कडा खालको कुपोषण छ । समयमै उपचार पाएनन् भने आजभोलि नै मृत्यु हुन सक्छ,’ उनले भने, ‘उपचार गर्न मार्तडी (सदरमुकाम) जाऊ भन्दा मान्दैनन् । मार्तडी पठाउँछन् भन्ने डरले धेरैजसो जाँच गर्न पनि आएनन् ।’ उनले यो गाउँमा २ सयभन्दा बढी ५ वर्षमुनिका बालबालिका रहेको र सबैजसो कुपोषित भएको बताएको छ ।

