काठमाडौं – सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दरमा भर पर्छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुको बेस रेट बढेको थियो । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेस रेट ६ दशमलव ९१ प्रतिशत रहेकोमा पुस मसान्तमा बढेर ८.४० प्रतिशत पुगेको थियो । अब चैत मसान्तसम्मको बेस रेटको तथ्यांक वैशाखमा आउँछ । दोस्रो त्रैमास पछि पनि लगातार बैंकको लागत बढेकाले तेस्रो त्रैमासमा ऋणको ब्याजदर बढ्नेछ ।
‘माघ, फागुन र चैत महिनामा बैंकहरुको लागत बढेको छ, निक्षेपको ब्याजदर बढेको असर अब तेस्रो त्रैमासको बेस रेटमा देखिन्छ,’ एक बैंकका सीईओ भन्छन्, ‘लागत बढेका कारण वैशाखमा ब्याजदर बढ्नेमा शंका गर्ने ठाउँ छैन, ऋणीहरु मेन्टल्ली प्रिपियर भएर बस्दा पनि हुन्छ ।’ वैशाख पछि भने ब्याजदर घट्न सक्ने उनको अनुमान रहेको छ ।
अहिले वित्तीय क्षेत्र तथा बैंकमा लगानी योग्य रकमको अभाव छ । अधिकांश बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा छन् । बैंकमा निक्षेप नआएकाले आकर्षक ब्याजदर अफर गरेर निक्षेप तानिरहेका छन् । यसले बैंकहरुको लागत बढाएको छ । वैशाखदेखि भने सरकारी खर्च बढ्ने र चुनावले पनि नगद प्रवाह बढाउने ती बैंकरले बताउँछन् ।
बजारमा पैसा आउँदा तरलता सहज हने र त्यसको सकारात्मक असर चौथो त्रैमासमा देखिने उनी बताउँछन् । राष्ट्र बैंकका प्रव्रक्ता डा. गुणाकर भट्ट पनि बैंकहरुले निक्षेपमा आकर्षक ब्याजदर दिँदा लागत बढ्न गएको बताउँछन् । लागत बढ्दा बेस रेट बढ्ने भए पनि अहिले नै भनिहाल्न भने नमिल्ने उनले बताए । तरलताको निकै ठूलो समस्या झेलिरहेको बेला रुस–युक्रेन युद्धले समेत नेपाली अर्थतन्त्रमा असर परेको देखिन्छ ।
रुस–युक्रेन युद्धले महंगी र तरलता समस्या अझै गहिरिने चिन्ता बढेको बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् ।
रुस–युक्रेन युद्ध र अस्थिरताले केही न केही असर सबैतिर गर्छ । युक्रेनबाट नेपालले पनि धेरै वस्तुहरु आयात गर्छ । त्यहाँको युद्धको असर नेपाली बजारमा परिसकेको छ । ‘पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ’, सीईओ केसी भन्छन्, ‘अन्य क्षेत्रमा पनि महँगी बढेको छ । विविध कारणले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ । अब महँगी दोहोरो अंकमा जाने सम्भावना रहेको छ । यसबाट तरलता समस्या अझै बढ्न सक्ने सम्भाबना रहेको छ ।

