यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ । व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको बताए । ‘हवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन् , उनले भने ।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली केही दिनमै आउने अवस्थामा छ । जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङलगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । नियमावली नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयबाट पास भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ ।
विमानस्थलका अनुसार विमान अवतरणका लागि कम्तीमा पनि १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा यहाँ ६ सय मिटरमै अवतरण गर्न सकिनेछ । विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिबिलिटीमा पनि सहजै विमान अवतरण गर्न सकिनेछ ।
भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एन्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्नेमा सुझाव दिएका छ । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत विदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाई उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने विश्वास रहेको छ । सुरुमा प्रतिदिन १० र सन् २०३३ सम्म ६० वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको दाहालले बताएको छ ।

