विदेश जाने तारतम्य मिलाउन राजधानी हिँडेका दार्चुला, राङथाङका ३५ वर्षीय जयसिंह धामी सात महिनादेखि बेपत्ता छन् । भारतको बाटो हिँड्न महाकाली तर्ने पुल छैन , आफ्नै जिल्ला सदरमुकाम पुग्न सडक छैन । पारि जान खोज्दा भारतीय फौज एसएसबीका सुरक्षाकर्मीले तुइन फुस्काइदिँदा मध्यबर्खाको महाकालीमा खसेर बेपत्ता भएका धामीको खोजबिन गर्न पनि छाडिएको छ ।
जयसिंहभन्दा अघि र पछि पनि नेपाली नागरिक यसैगरी ज्यान जोखिममा राखेर भारत हुँदै आफ्नै जिल्ला सदरमुकाम खलंगा आउन बाध्य छन् । महाकालीको तुइन त एउटा उदाहरण मात्र हो, देशैभर स्वास्थ्यचौकी , खानेपानी, औषधि र विद्यालयबिना सर्वसाधारणको जीवन कष्टसाध्य छ । तर, आधारभूत सुविधाको पर्खाइमा रहेका नागरिकप्रति कुनै जिम्मेवारी बोधबिना देशको नेतृत्व गरेका र गर्न तम्सिएका नेताहरू करोडौंका भ्यु टावर उद्घाटन गर्न जिल्ला दौडाहामा हीडिरहेका छन ।
रोल्पाको भ्यु टावरको चर्को विरोध भइरहेका बेला अर्का पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रूपन्देहीको तिलोत्तमा, शंकरनगरमा साढे ११ करोडको भ्यु टावर उद्घाटन गरेका छन् । वन वाटिकाको जंगल क्षेत्रमा १० तले टावर बनाउँदा एक सय रूख काटिएको छ । हरियाली मासेर कंक्रिटको टावर बनाएकामा स्थानीय असन्तुष्ट छन् ।
तिलोत्तमा–३ का कल्याण पौडेल भन्छन्, ‘टावरमा गरिएको साढे ११ करोड नहरमा प्रयोग गरेको भए सयौं बिघा खेत सिँचाइ हुन्थ्यो, हजारौं किसानले प्रत्यक्ष फाइदा लिन सक्थे । तर नेताहरूले किसानका बाँझो खेत हेर्न भ्यु टावर बनाएका छन् ।’
उता तिलोत्तमा नगरपालिकाले निर्माण गर्ने भनेको ४७ किलोमिटर चक्रपथ योजना भने बजेट अभावमा अलपत्र रहेको छ । त्यसो त भ्यु टावरप्रति ओलीको आकर्षण बलियो छ ।
प्रधानमन्त्री भएकै बेला ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा १८ तले भ्यु टावर बनाउन सुरु गरेका थिए । निर्माणाधीन टावरको पश्चिममा छ टुकुरे सुकुम्बासी बस्ती । राज्य कोषको डेढ अर्बभन्दा बढी लागतमा भ्यु टावर सम्पन्न भएपछि १८ तलामाथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो । वि.सं. २०२२ देखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन रहेका छन् ।

