सबैलाई पठाउनु होला

करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि लगातार तेस्रो खेल जित्दै नेपाल त्रिकोणात्मक २० शृंखलाको फाइनल पुगेको छ । नेपालले बिहीबार पपुवा न्यु गिनीलाई ३७ रनले पराजित गरेको छ ।  २ सय ४ रनको लक्ष्य लिएर आएको पीएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो ।

पीएनजीको यो लगातार तेस्रो हार हो । करण केसीले दुवै ओपनर लेगा सिएका र कप्तान असाद भालालाई समान १ रनमा आउट गरे । सिएकालाई आउट गर्दै करणले २० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे ।

अन्तिम ओभरमा करणले चाड सोपर (२), सिमोन अटोइ (०) र नोसाइना पोकाना (०) लाई आउट गरी  २० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बने । करणले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । नेपाली खेलाडीले पहिलो पटक ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका हुन् ।

२०१५ को ट्वान्टी २० विश्वकप छनोटमा वसन्त रेग्मीले हङकङविरुद्ध १६ रन खर्चेर ४ विकेट लिनु नेपाली खेलाडीको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यसअघिको उत्कृष्ट बलिङ प्रदर्शन थियो । चार्ल्स अमिनीले सर्वाधिक ४७ बलमा सर्वाधिक ६२ रन बनाउनेक्रममा ९ चौका प्रहार गरे ।  टोनी उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

नोर्मन भानुआ १७ र सेसे बाउले २५ रन बनाए । दुबैलाई अविनाश बोहराले लगातार बलमा आउट गरे । अविनाशसँगैं सोमपाल कामीले २/२ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिएको छ । यसअघि पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ३ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले नेपालबाट ३३ बलमा सर्वाधिक ६६ रन बनाए । उनले १८ औं ओभरमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । दीपेन्द्रले कुल ४ छक्का  र  ३ चौका प्रहार गरे । नेपालले १८ औं ओभरमा २४ र १९ औं ओभरमा ३२ रन जोडेको थियो ।

डेब्यु गरिरहेका मोहम्मद आदिल अहमदले १९ औं ओभरमा नोसाइना पोकानालाई ३ छक्का र १ चौका तथा दीपेन्द्रले १ छक्का प्रहार गरेका थिए । पोकानाले सोहि ओभरको अन्तिम बलमा दीपेन्द्रलाई क्याच आउट गराए । आदिलले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए । काबुआ मोरेआले अन्तिम ओभरमा आदिल, दीलिप नाथ (०) र करण केसी (१) लाई आउट गरे ।

नेपालले अन्तिम ओभरमा ४ रनमात्र बनाउन सक्यो । आरिफ शेख २ रनमा अविजित रहे । कुशल भुर्तेल र आसिफ शेखले ७ ओभर भित्र ४२ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । कुशल २० बलमा १७ रन बनाई आउट भए । पछिल्ला दुई खेलमा नेपालबाट उच्च स्कोर बनाएका आसिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । रोहित पौडेलले ४१ रन बनाए । उनले २३ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com