काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका सांसद माधवकुमार नेपालसहित १४ जनाको सांसद् पद खारेज गर्न माग गर्दै दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि शुरु गर्न लागेको पूर्ण सुनुवाइ रोक्न निवेदन पेस गरिएको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको पूर्ण सुनुवाइ स्थगन गर्न १४ सांसदका प्रतिनिधित्व गर्ने अधिवक्ताले निवेदन दिएका हुन।
एमालेले १४ सांसदलाई कारबाहीको पत्र पठाए पनि सभामुखले कुनै निर्णय नगरेको र निर्वाचन आयोगले समेत जबरजस्ती अर्को दल दर्ता गरेको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो
एमालेबाट अलग भएर एकीकृत समाजवादी दल खोल्नुअघि नै नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्न पत्राचार गर्दा पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरी सांसदमै राखेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आजबाट पूर्ण सुनवाइ सुरुवात गर्न लागिएको थियो।
१४ सांसदको कारबाहीको माग गर्दै एमालेले संघीय संसद् अवरुद्ध गर्दै आएको छ। १४ सांसदविरुद्ध मुद्दाको सात महिनादेखि फैसला हुन सकेको छैन।

