काठमाडौँ – बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र थप जोखिममा परेपछि गाडीलगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिए ।
राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई आकस्मिक रूपमा बोलाएर उक्त निर्देशन दिए । ती वस्तु आयात गर्न एलसी खोलेको भेटिए कारबाही गर्ने चेतावनी समेत उनीहरूलाई दिए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा आकस्मिक रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलका लागि डाकिएको थियो । छलफलमा गभर्नर र डेपुटी गभर्नर भने उपस्थित थिएनन् । अनुसन्धान, नियमन, सुपरिवेक्षण र विनिमय व्यवस्थापन विभागका प्रमुखहरूले करिब ४५ मिनेट लामो निर्देशन दिएका थिए ।
‘सबै प्रकारका सवारी साधन र यसअघि निर्दिष्ट कम आवश्यक वस्तुको आयातका लागि मंगलबारदेखि नै एलसी बन्द गर्ने आग्रह गरिएको छ,’ स्रोतले भन्यो, ‘यसमा राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गर्ने पनि भनिएको छ ।’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सवारी साधनलगायत अत्यावश्यकबाहेकका आयातमुखी कर्जा कम गर्न पनि बैंकहरूलाई आग्रह गरिएको बताए ।
तरलता अभाव भएपछि बैंकहरूको कर्जा प्रवाह क्षमता घटेको छ । अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आए पनि आयात कर्जा अपेक्षित रूपमा घटेको छैन । ‘हामीले बैंकहरूमार्फत काम गर्ने हो । उचित लिखित निर्णय लिन अर्थ मन्त्रालयलाई पनि निरन्तर सुझाव दिइरहेका छौं, ‘खासगरी इन्धन र अन्य विलासिताका सामग्रीको आयातमा बन्देज लगाउने निर्णय अर्थ मन्त्रालयले गर्ने हो ।
संकट लम्बिइरहे अर्थ मन्त्रालयले त्यो निर्णय लिने विश्वास छ ।’ चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तमा ९ अर्ब ७५ करोड छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ छ ।
बैंक तथा वित्तीय संस्थासँग विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ । सात महिनामा बैंकको विदेशी मुद्रा सञ्चितिमा ३.९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।
यो राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कायम गर्न तय गरेको वार्षिक लक्ष्यभन्दा कम हो । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढाउन निरन्तर विभिन्न उपाय अघि सार्दै आएको छ । राष्ट्र बैंकले आफूहरूलाई आयातमुखी कर्जा प्रवाह कम गर्न निर्देशन दिएको बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले स्वीकार गरे । ‘अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । यस्तो बेला अत्यावश्यकबाहेकका आयातमुखी कर्जा प्रवाह घटाउन आग्रह गर्ने विषयमा छलफल भएको हो,’ उनले भने ।

