सामाजिक विकासमा पुरुषको तुलनामा महिला नेतृत्वले सक्षम र अझ महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भनिन्छ । जहाँ–जहाँ महिलाको नेतृत्व छ, त्यहाँ पारदर्शिता, सन्तुलन देखिन्छ । तर राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीको हकमा यो कुरा लागू भएको पाइँदैन ।
पराजुलीले ज्येष्ठ नागरिकका लागि भवन बनाउने नाममा सरकारी जमिन र राज्यको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । उनले काठमाडौँ शंकरापुर नगरपालिका–९ स्थित इन्द्रायणीमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा आश्रम निर्माण गर्ने भनेर तत्कालीन बालबालिका , महिला तथा समाजकल्याण मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक शाखाबाट पटक–पटक गरी करिब ७ करोड रुपैयाँ अनुदान लिएकी छन् ।
नेपाल सरकारको तलब भत्ता खाएर आफूले जिम्मा लिएको काम सम्पन्न नगरी विभिन्न व्यक्तिको मिलेमतोमा ज्येष्ठ नागरिक गृह निर्माण गर्ने कागज प्रमाणहरू मिलाई नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी र स्थानीय समुदायमा समेत असर पर्ने काम गरेको अध्यक्ष पराजुलीमाथि लागेको छ । उनले आर्थिक वर्ष २०७०/०७१ सालमा ४ करोड र २०७१/०७२ मा २ करोड एक लाख रुपैयाँ गरी दुई पटक समाज कल्याण कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक संरक्षणका लागि अनुदान प्राप्त गरेको मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।
उनले ‘सङ्कल्प नेपाल’ नामक एनजिओमार्फत ज्येष्ठ नागरिक गृह निर्माण गर्न उक्त रकम लिएकी हुन् । तर उनले ज्येष्ठ नागरिकको नाम बेचेर भवन बनाउने नाममा अनियमितता गरेको पाइएको हो । सेटिङ मिलाएर २० आना जग्गा आफ्नो एनजीओको नाममा गरी त्यही जमिनमा आश्रम बनाउने भनेर उनले सरकारसँग पटक–पटक रकम लिएकी हुन् । अहिले सो क्षेत्रमा दुई तलाको भवनको पिल्लर उठाइएको छ । भवन निर्माण नसकिँदै जीर्ण र भत्किएको छ । त्यसमा पनि झाडी उम्रेर लथालिङ्ग अवस्थामा रहेकाले राज्य दोहनमा उनी प्रत्यक्ष संलग्न भएको देखिएको हो ।
यो स्थानीयको चरिचरन क्षेत्र हो । शक्ति र पहुँचमा भएका धेरैले यो जग्गामा नजर लगाए पनि स्थानीयले सो जग्गा जोगाउँदै आएका थिए । तर पराजुलीको राज्य सञ्चालकसँग सिधै पहुँच भएकाले उनले त्यो चरिचरन क्षेत्र आफ्नो पोल्टामा पारेरै छाडिन् । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका पालामा २०७० सालमा उनले जग्गा आफ्नो एनजीओको नाम गरेकी हुन् ।
सरकारी जग्गा पराजुलीले आफ्नो नाममा पास गरे पनि त्यहाँ ज्येष्ठ नागरिकहरूका लागि आवास निर्माण हुने कुराले खुसी नै भएको स्थानीयवासी बताउँछन् । तर उनले राज्यबाट त्यत्रो रकम लिएर भवन अलपत्र पारेर छोडेको भन्दै स्थानीयवासीले यो भ्रष्टाचारको चरम नमुना भएको बताएका छन् । सरकारले यसमा छानबिन गरी उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयवासीको माग छ ।
एक स्थानीयवासी भन्छन्, ‘पैसा, पहुँच र राजनीतिक आडमा मान्छेले राज्यको सम्पत्ति कतिसम्म हिनामिना गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् कमला पराजुली । सरकारले यस्ता व्यक्तिलाई दण्डित गर्नुपर्छ । उनी मिडियामा आफूले भ्रष्टाचार गरेको छैन भन्दै हिँडेकी छन् तर उनले यहाँ आएर हामीलाई जवाफ दिनुपर्छ ।’

