धनकुटा – ७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा २३ वर्षीय दिनेश पोखरेलले आक्रमण गरेको हो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाए । गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । परिवारका सदस्यसँग गफगाफ गरिरहेको अवस्थामा एक्कासी खुकुरी प्रहार गरिएको प्रहरीले जनाए ।
जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ । गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाए । उनको अवस्था खतरामुक्त रहेको समेत अस्पतालले जनाएको छ ।
कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताए । आक्रमण गर्ने पोखरेल धनकुटा-६ बस्ने गुरागाईंका छिमेकी हुन् । आक्रमण गरी फरार रहेका पोखरेललाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाए ।
आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले गुरागाईंलाई हत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको साबिती बयान दिएको प्रहरीले दाबी गरेको छ । पोखरेललाई तत्काल पक्राउ गरिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् । गुरागाईंका परिवारले घटनाबारे गहिरो अनुसन्धान गरिनु पर्ने माग गरेका छन् ।

