काठमाडौं – रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरे ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाए । साधारण सेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
निष्काशन गरिएको सेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए बैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाए । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको तुम्लिङटार , खाँदबारी र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्काशन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रवद्र्धन गरिरहेको १०।३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाए । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरे ।

