महोत्तरी – यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग परेका भङ्गाहा नगरपालिका-४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवाका कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उनको खुसी हराएको हो । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जरले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् ।
महतोजस्तै सोही बस्तीका सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, बासु बराल, गुणराज दाहाल, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिएका छन् । ‘फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ’, फलफूल किसान हरिदेव साहले भने, ‘राम्ररी टिकोला ९चिचिला० नै लाग्न नपाई मज्जरनै डढ्यो ।’ मधुवाको प्रकोपले व्यावसायिकरुपमै फलफूलखेती गर्ने यहाँका किसान निरास भएका छन् ।
फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा रोगको प्रकोपले चिन्ता बढाएको छ । ‘खै केही वर्ष पहिले त फलफूलखेती हेर्ने जेटिए बाबु आएर यस्तो गर्नोस् भनेर परामर्श दिन्थे, ‘अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ’ , बर्दिबास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने ।
समयसमयमा कृषि परामर्श नपाउँदा पनि आफूहरु पछि परेको फलफूल किसानको गुनासो थियो । जिल्लाको भङ्गाहा , गौशाला, जलेश्वर र बर्दिबास नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै आँप बगैँचा लगाइए । सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि लागेका केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताएका छन् ।
‘यसपालि आँपबाट आम्दानी लिने आस मर्यो’, मधुवाले डढाएर कालो बनाएको मज्जरतिर देखाउँदै पशुपतिनगरकै अर्का फलफूल किसान सुरजसिंह कुशवाहाले भने । उनको दुई बिघा जमिनमा आँप बगैँचामा २० प्रतिशत रुखमा मात्र चिचिला रहेको बुशवाहाको भनाइ रहेको थियो ।
चैत सुरु भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको गौशाला–८ बेलगाछीका किसान लालदेव महतोले बताएको छ । आँपमा चिचिला खेल्ने समय चैत पहिलो सातामै मज्जरमा मधुवा लागेर कालो बनाएको छ । आफ्नो बारीका ६० रुख आँपमध्ये आधाभन्दा बढी रुखको मज्जर मधुवाले डढाएको उनको गुनासो थियो । ‘मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन’, ‘तर सघन उपचार बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ’ , महतोले आफ्नो आँप बगैंचामै पुगेका सञ्चारकर्मीसँग भने ।
यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मज्जर लागे पनि सबैतिर मधुवाको प्रकोप पनि फैलिएको छ । ‘पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो’, ‘त्यसपछि एकपछि अर्को उपचार चलाइए पनि पूर्ण नियन्त्रण हुन सकेन ’ , जलेश्वर–५ चौडियाका किसान रहिमन मण्डलले भने । आँपमा मधुवाले गाँजेपछि यसपाली आँपको उत्पादन घट्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् ।
‘आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो आयस्ताअनुसार खान पाउँथे’, बर्दिबास–१ का होटल व्यवसायी दिपेन्द्र पराजुलीले भने, ‘यसपाली भने मधुवाले मज्जर नै डढाएपछि उत्पादन कम हुनेहुँदा गरिब उपभोक्ताले आँप खान पाउँने छैनन् ।’ यता फलफूल विज्ञले भने मज्जर खेल्नासाथै उपचार नगरिदा मधुवाको प्रकोप बढेको बताउनुभयो । समयमै उपचार नगरिँदा मधुवाको प्रकोप बढेको भङ्गाहा–६ सग्रामपुर निवासी पूर्वकृषि विज्ञ राजकिशोर यादवको भनाइ थियो । लगातार सघन उपचार गरिँदै लगिए रुखका टिकोला अडाउन सकिने उहाँको सुझाव रहेको थियो ।
यसैगरी आँपमा फूल खेल्न थालेकै बेला उपचार नगर्दा मधुवा लागेको अर्का फलफूल विज्ञ ज्ञानेन्द्र सिंह कुशवाहाको भनाइ थियो । आँपको रुखको जरा वरपर खनेर सिँचाइ गर्नाका साथै फेदमा चुन दल्नेजस्ता प्राकृतिक उपचारले मधुवा रोक्न सकिने उनको सुझव थियो । मधुवा लागिसकेपछि भने मज्जर बचाउन विषादिको प्रयोग गर्नुपर्नेमा कुशवाहाले जोड दिएको छ ।
लगातार फूलमा पानी छर्किएसँगै जरामा पर्याप्त सिँचाइ गरिए मधुवा नलाग्ने र फुलमा दाना राम्रो लाग्ने फलफूल विज्ञको सुझाव थियो । यसपाली हिउँदमा राम्रो पानी नपरेको र किसानले आँपको जरा वरिपरि खनेर किरा मार्ने उपचार नगर्दा मधुवाले पिरोलेको कृषि सेवाकै अवकाशप्राप्च सहसचिव भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको भनाइ रहेको थियो ।

