सबैलाई पठाउनु होला

घोराही  –    पन्ध्र वर्षको कलिलो उमेरमा विवाह गरेर  दाङ आएकी शोभा परियारको उमेर अहिले ५५ वर्ष पुग्यो । शोभालाई ४० वर्षअघिको विवाह पछिको पहिलो दिन अझै याद छ । उनले  बिहान साढे चार बजे अढाई घण्टा हिँडेर कापर खोलाबाट ल्याएको एक गाग्री पानीले खाना बनाएर घरगृहस्थी सुरू गरेकी थिइन्  । बुढ्यौली लाग्न थालिसक्यो । जीन्दगीले कयौं रंगहरू फेरिसक्यो । ४० वर्ष लामो सफरमा उनले धेरै गोरेटाहरू छिचोलिसकिन् । तर एक गाग्री पानीका लागि अढाई घण्टा लामो यात्रा तय गर्नुपर्ने बाध्यता भने जस्ताको तस्तै रहेको  छ ।

केही राहत नभएको होइन । ०५४ सालमा भारतीय दूतावासको सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा घोडदौरा गाउँमा पानीको धारा आइपुग्यो । एक गाग्री पानीका लागि हिँड्नुपर्ने समय अढाई घण्टाबाट आधा घण्टामा झर्‍यो । तर दुई गाग्री पानीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने भएपछि धारा कापर खोलाको बिकल्प बनेन । गाउँगाउँमा ‘सिंहदरबार’ पुग्दा पनि घोराही उपमहानगरपालिका वडा नं. १८ मा पर्ने घोडदौराको दुःख उस्तै छ । ८८ घरधुरी रहेको यो बस्तीका मानिसहरु हरेक दिन पानीका लागि अढाई घण्टा हिँड्नुको विकल्प छैन ।

अघिपछि भन्दा फागुनदेखि जेठ मसान्तसम्म गाउँमा पानीको चरम अभाव हुन्छ । शोभा सुनाउँछिन् , ‘दूतावासले बनाएको धारामा एक/दुई दिन बिराएर दुई घण्टा पानी आउँछ । त्यसपछि काटिन्छ र कहिले त हप्तादिनसम्म पनि आउँदैन’। गाउँका हरेक घरबाट पानी आउने दिन मध्यरातिदेखि लाइनमा भाँडा राखेर पालो पर्खिन्छन् । पालोमा बसे पनि सधैं पानी थाप्न नपाइने तीतो पीडा सुनाउँछिन् गंगा विक (४५) ।  ‘दुई घण्टा पालो कुर्दा पनि धारामा पानी पाइने होइन, भीड हुन्छ । कहिले पालो नआउँदै धारामा पानी बन्द भइसक्छ,’ उनी भन्छिन् ।

ट्यांकरबाट पानी ओसारेर नाचघर

यो काकाकुल गाउँमा सरकारले भने ‘सांस्कृतिक डबली’ बनाइरहेको छ, त्यो पनि एक घण्टा ट्रयांकर दौडाएर ल्याएको पानी प्रयोग गरेर । विद्यालय बनिरहेको हुन्थ्यो भने छोरोछोरी/नातानातिनीले घर नजिकै पढ्न पाउलान् भन्ने हुन्थ्यो । अस्पताल हुन्थ्यो भने उपचार गर्न घोराही सहर जाने दुःखबाट छुटकारा मिल्थ्यो । पानीको ट्यांकी हुन्थ्यो भने हरेक दिन केही घण्टा हिँडेर एक गाग्री पानी ल्याउने बाध्यता हट्थ्यो   उनले  भनिन ।

१२ फागुन २०७६ मा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक डबली निर्माणको शिलान्यास गरेका थिए ।  वडा नं. १८ का वडाध्यक्ष भरत अर्याल, ०७४ सालको आम निर्वाचनका बेला भोट माग्न पुगेका पोखरेलले डबली बनाउने घोषणा गरेको सम्झिन्छन् ।

‘यहाँ तल घोराही उपत्यका पुरै देखेपछि उहाँले पर्यटकीय विकासका लागि सांस्कृतिक डबली बनाउने घोषणा गर्नु भएको थियो । मुख्यमन्त्री हुँदा उहाँकै पहलमा प्रदेश सरकारको बजेटबाट निर्माण सुरु भएको हो,’ अर्यालले   भने, ‘सांस्कृतिक डबली बनेपछि सडक, बिजुली र पानीको सुविधा दिन सकिन्छ भन्ने लागेर निर्माण गरिएको हो ।’ उनले सांस्कृतिक डबलीले पर्यटनको विकास गर्ने र त्यसबाट भएको आम्दानीबाट सडक, बिजुली र त्यस क्षेत्रमा असाध्यै अभाव रहेको पानीको व्यवस्था गर्ने विकासको ‘फर्मुला’ सुनाएका छन् ।

बहुवर्षिय योजनाका रुपमा ११ करोडको डीपीआर तयार गरिए पनि अर्थमन्त्रालयले स्वीकृत नगरेपछि प्रदेश पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत वन डिभिजन कार्यालय दाङमार्फत आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेर सांस्कृतिक डबली निर्माण थालिएको थियो ।

चुनावी एजेण्डा ‘पानी’

दलहरुले पानीको समस्या छ भन्ने नबुझेका पनि होइन । हरेक चुनावमा पानीलाई एजेण्डा बनाएर भोट माग्ने गरेका छन् । दशकौंदेखि पानीको समयस्या भोगिरहेको यो बस्तीबाट भोट बटुलेपछि कुनै नेताले समस्या समाधानका लागि पहल नगरिदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

खुसल गिरी  चुनाव आउँदामात्र दलहरू पानीको नारा ल्याएर गाउँ पस्ने गरेको बताउँछन्। ‘हरेक चुनावमा उम्मेदवारहरूले पानीलाई चुनावी एजेण्डा बनाएर भोट माग्छन् तर, केही गर्दैनन्,’ गाउँकै वासी गिरीले भने, ‘जो नेता आए पनि उस्तै हो । चुनाव आउँदा पानी ल्याइदिन्छौं भन्छन्, जितेपछि केही गर्दैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com