काठमाडौं – आर्थिक संकट नजिकिएपछि सरकार आयात घटाउने र विदेशी मुद्रा सञ्चिति बढाउने प्रयासमा छ । सरकारी प्रयोजनको इन्धन खपत २० प्रतिशत घटाउने र महँगा सवारी नकिन्ने योजनामा काम भइरहेको सरकारको दाबी रहेको छ । तर प्रयोग गर्न मिल्ने भए पनि पुराना दर्जनौं गाडी सिंहरदरबारमा अलपत्र रहेका छन् ।
सिंहदरबारमा फालिएका गाडीको दृश्य देख्दा अर्थविद् शिवराज अधिकारीको आँखा बिझाउँछ । उनी भन्छन्, ‘कम्तीमा कवाडीमा फालिएका र पुराना भएका गाडीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पठाएर त्यसलाई विद्युतीय सवारीमा रुपान्तरण गरेर चलाउने हो भने इन्धन पनि बच्थ्यो, गाडी आयातमा हुने खर्च पनि बच्थ्यो ।’ तीनै तहका सरकारले नयाँ सवारीहरु किन्न वर्षमा ७ अर्बभन्दा बढी रकम खर्चिने गरेका छन् ।
यदि अहिले प्रयोगमै रहेका सवारीलाई विद्युतीय रुपान्तरण गर्दै जाने नीति लिने हो भने खर्च बच्ने देख्छन् अर्थविद अधिकारी । ‘पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न सिंहदबारबाटै किन सुरु नगर्ने ?,’ उनी भन्छन्, ‘त्यसले आम सर्वसाधारणलाई विद्युतीय सवारीप्रति आकर्षित गर्न मद्दत गर्थ्यो ।’ विद्युतीय गाडी सरकारी खर्च घटाउन र राज्यस्रोतको दोहन रोक्न कति उपयोगी छ भन्ने कुरा त नेपाल विद्युत् प्राधिकरणले किनेका विद्युतीय गाडी चलाउन चालक र कर्मचारीले नमानेको तथ्यबाटै प्रष्ट भएको छ ।
११ चैतमा राजपत्रमा एक सूचना जारी गर्दै सरकारले डिजेल वा पेट्रोलबाट चल्ने कारलाई बिजुली वा ग्यासबाट चलाउन सकिने गरी इन्धन प्रणाली बदल्न सक्ने व्यवस्था गरिसकेको छ । तीन वर्षका लागि नियम लागू भए पछि नेपालमा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा बदल्न अग्रसर भएकाहरु खुसी छन् ।
पुराना सवारीले फाल्ने धुँवाले वायु प्रदुषण बढेको निष्कर्षसहित भएको २० वर्षे सवारी विस्थापित गर्ने निर्णय विद्युतीयमा रुपान्तरण गर्दाको हकमा पनि लागू हुने खालको व्यवस्था रहेको छ, जसले पेट्रोलियम सवारीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न रोक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् ।
लामो अलमल
नेपालमा सवारीको इन्धन प्रणाली विद्युतीयमा रुपान्तरणको अभ्यास नौलो विषय होइन । सन् १९९३ मा अर्थशास्त्री गोविन्दराज पोखरेलसहितको टिमले यूएसएडको सहयोगमा जैविक इन्धन प्रयोग गर्ने तीन पांग्रे (विक्रम टेम्पो) लाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न मिलेर काम गरे । केही वर्षमा, बिजुली ‘सफा टेम्पो’ले डिजेलले चल्ने पूर्ववर्तीहरुलाई पूर्ण रुपमा प्रतिस्थापन गरेको थियो ।
हालसालै काठमाडौं विश्वविद्यालयले प्रयोगमा रुपमा पुरानो ‘मारुती सुजुकी कार’लाई विद्युतीय कारमा बदलेको छ । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका विद्यार्थीको समूहले पूर्व उपकूलपतिले चढेको कारलाई विद्युतबाट चल्ने बनाएका छन् । अब उनीहरुले यही कारलाई हाइड्रोजन इन्धनबाट चल्ने बनाउने परियोजनामा काम गर्ने बताए ।
अभियान्ता महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविस्कार केन्द्रले पनि पेट्रोल गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने परियोजनामा काम गरिरहेको छ ।
पूर्वी नेपालको धरान उपमहानगरपालिकाले त्यही गर्न खोजेको छ । वृहत अनुसन्धानपछि निजी कम्पनीसँग मिलेर फोहोरबाट उत्पादित ग्याँसबाट धरानमा अटोरिक्सा चलाउन थालिएको छ । ‘हामी सहर सफा राख्ने परियोजनामा काम गरिरहेका छौं र मिथेन बनाउने गृहकार्य गरेका छौं,’ धरानका मेयर तिलक राई भन्छन्, ‘जसबाट हामी यी सवारी साधनहरु चलाउन सक्छौं, तिनीहरुलाई सीएनजी (कम्प्रेस्ड नेचुरल ग्याँस) मा चल्नेमा रुपान्तरण गरिनेछ, जुन पेट्रोलको सस्तो विकल्प हो ।’
स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो चरणमा ५० वटा अटोरिक्सा परिणत गर्ने लक्ष्य राखेको उनले बताएका छन् । ‘पेट्रोलको मूल्य यति धेरै भएको समयमा यो कामले सहरलाई स्वच्छ राख्न पनि सघाउँछ, सरकारले ढोका खोलिसकेको छ, हामी छिट्टै प्रक्रिया सुरु गर्नेछौं,’ मेयर राई भन्छन्, ‘विद्युतीय सवारीमा रुपान्तरण र सीएनजी रुपान्तरण दुवैले सकारात्मक परिवर्तन ल्याउँछ ।
नेपालमा शोध र अनुसन्धान मात्रै होइन, पुराना कारलाई विद्युतीयमा बदल्ने औद्योगिक परियोजनामा काम गर्न तयार भएर बसेका कम्पनीहरु पनि छन् । ‘नाडा अटो शो २०१९’ मा दी गो ग्रुप अफ कम्पिनिजले इन्धन प्रणाली रुपान्तरित गरेको गाडी राखेको थियो । धेरैको ध्यान तानेको ‘डेवुज माटिज’ सन् २००० मै बनेको पेट्रोल गाडी थियो, कवाडी पुगिसकेको गाडीलाई ‘दी गो’ कम्पनीका इन्जिनियरले इन्धन प्रणाली बदलेर विद्युतीय सवारीमा रुपान्तरण गरेका थिए ।

