सबैलाई पठाउनु होला

काठमाडौं  – काठमाडौं महानगरपालिकामा यसपटकको चुनाव पनि जितेर नेकपा एमाले ह्याट्रिक गर्ने योजनामा छ । चुनाव केन्द्रित आन्तरिक छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनुले काठमाडौं महानगरको चुनाव एमालेका निम्ति विशेष प्राथमिकतामा रहेको बुझ्न गाह्रो पर्दैन ।

‘महानगरको उम्मेदवार केन्द्रीय नेतृत्वबाट टुंग्याउने भन्ने पार्टी निर्णय नै हो । पार्टी अध्यक्षले चासो लिनुलाई स्वभाविक मान्नुपर्छ’, काठमाडौं जिल्ला सहइन्चार्ज रहेका एमाले केन्द्रीय सदस्य कृष्ण राई भन्छन् । देशको राजधानी रहेको काठमाडौं महानगरको चुनावलाई अन्य दलले पनि प्रतिष्ठासँग जोडेका छन् ।

त्यसैले २०५४ र ०७४ को चुनाव जितेको एमालेले महानगरको नेतृत्व नछोड्ने योजना बनाउनु अस्वभाविक होइन । तर ‘एमाले ह्याट्रिक सपना’मा तत्कालको समस्या भने आकांक्षी व्यवस्थापन गर्दै उम्मेदवार चयन गर्नु नसक्नु हो । महानगर कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्न नसकेपछि जिल्ला कमिटीमा छलफल भइरहेको छ ।

एक जिल्ला नेता भन्छन्, ‘अझै केही दिन लाग्न सक्छ । सके त सर्वसम्मत सिफारिस गर्ने भन्ने नै हो, हामी छलफलमा छौं’ । आगामी ३० वैशाखमा हुने चुनावमा मेयरका उम्मेदवार हुन चाहेकामध्ये विद्यासुन्दर शाक्य र केशव स्थापितको दाबी बलियो रहेको एमाले नेताहरु बताउँछन् । दुवै पछि हट्न चाहेका छैनन् ।

स्थापित २०५४ र शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् । तर एमाले नेताहरू भने मनोनयन दर्ता हुने बेलासम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन हुने र यस पटकको निर्वाचन जितेरै छोड्ने दाबी गर्छन् ।

पुरानो जनमतले उत्साह

साझा उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रने सत्तारुढ गठबन्धनको तयारी हुँदा पनि एमाले नेताहरु उत्साहित हुनुमा भने २०७४ को चुनावी नतिजा हो । त्यसबेला एमालेका उम्मेदवार शाक्य १९ हजार बढी मतान्तरले निर्वाचित भएका थिए ।

शाक्यले ६४,९१३ मत ल्याएर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५,२६९ मत पाएका थिए । यो भनेको माओवादी केन्द्र, नयाँ शक्ति पार्टी (अहिले जनता समाजवादी पार्टीसँग एकता भइसकेको), राष्ट्रिय जनमोर्चा सहित दलले पाएको मत जोड्दा भन्दा धेरै हो ।

०७४ सालमा माओवादी केन्द्रका उम्मेदवारले ७,९०६, नयाँ शक्तिका उम्मेदवारले ६,०५०, जनमोर्चाले १३१ मत र फोरम लोकतान्त्रिकले ११८ मत ल्याएको थियो । अहिले सत्ता गठबन्धनमा रहेका यी सबै दलको मत जोड्दा ५९,४७४ मात्रै हुन्छ । अर्थात् २०७४ कै मत अनुपात कायम रहे सत्ता गठबन्धन भन्दा एमाले उम्मेदवारको मत ५,४३९ ले बढी हुन्छ ।

यद्यपि त्यो चुनावमा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवार बनेर रञ्जु दर्शना र किशोर थापाले धेरै मत पाएका थिए भने तत्कालीन राप्रपा नेपालसँग एमालेको तालमेल थियो । विवेकशीलका उम्मेदवार दर्शनाले २३,४३९ र साझा पार्टीका उम्मेदवार थापाले १८,४९६ मत ल्याएका थिए ।

बिग्रेको राजनीतिक माहोल

२०७४ को चुनाव हुँदै गर्दा अध्यक्ष ओली र एमालेप्रति आकर्षण उच्च थियो । २०७२ को संविधान जारी गर्न लिएको पहलकदमी र भारतीय नाकाबन्दीविरुद्धको अडानका कारण शहरी क्षेत्रको ‘राष्ट्रवादी मत’ एमालेले पाएको थियो । माओवादी केन्द्रको समर्थनमा बनेको एमाले सरकार ढलेपनि सहानुभूति एमालेले बटुलेको थियो ।

किनकि त्यसबेला ओली सरकार ढल्नुको मूख्य कारण पुष्पकमल दाहाल प्रचण्डको सत्ता मोह रहेको प्रचार एमालेले गरेको थियो । त्यो सत्ता हेरफेरसँग राष्ट्रवादी कार्डलाई जोडेर एमालेले प्रचार गरेको थियो । मुलुकको माइक्रो म्यानेजमेन्टसम्म दिल्लीको हस्तक्षेप रहेको मनोविज्ञान तान्न ओली र एमाले सफल हुँदा काठमाडौं महानगरको जित सजिलो भयो ।

विभाजनको असर

पार्टी विभाजन एमालेका लागि यो चुनावको अर्को चुनौती हो । लामो समय पार्टी नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा ठूलै पंक्ति एमालेबाट अलग भएका छन् ।

गएको २ भदौमा बनेको नेकपा एकीकृत समाजवादीले एमलेकै मत काट्ने निश्चित छ । नेताहरुले पनि खुलेरै एमाले हराउनु आफ्नो पार्टीको उद्देश्य भएको बताउने गरेका छन् ।

सुस्ताएको वैकल्पिक शक्ति

वैकल्पिक शक्ति सुस्ताउनुको असर समेत यसपटक महानगरको चुनावमा देखिन सक्छ । २०७४ को चुनावमा रञ्जु दर्शना र किशोर थापाले पाएको मत जोड्दा ४१,९३६ हुन्छ । यो भनेको झण्डै कांग्रेसले पाएको मत बराबर हो ।

मेयर र वडाध्यक्षले पाएको मतपरिणाम तुलना गर्दा पनि दर्शना र थापाले प्रमुख दलहरुकै मत काटेको पुष्टि हुन्छ । त्यो चुनावमा सवैभन्दा बढी मत कांग्रेसको काटिएको छ । कांग्रेसका वडाध्यक्षहरुले पाएको मत जोड्दा ६३,४२८ हुन्छ । जबकी मेयरका उम्मेदवार जोशीले ४५,२६९ मत ल्याए । यो भनेको १९ हजारको अन्तर हो ।

कमजोर कार्य सम्पादन

मेयर विद्यासुन्दर शाक्यलाई चुनावका बेला आफैंले कबोल गरेको घोषणापत्र कार्यान्वयनमा चुकेको आरोप लाग्दै आएको छ । कतिसम्म भने पार्टी बैठकहरुमा समेत शाक्य काठमाडौंमा अलोकप्रिय बनेको प्रश्न उठेको थियो । तर अहिले यस्तो सन्देश बाहिर लैजान उपयुक्त नहुने साझा बुझाइले शाक्यको बचाउमै एमाले नेताहरु देखिन्छन् ।

गठबन्धनको सन्देश

राजनीतिमा गठबन्धन भनेको संख्याको जोड मात्रै नभएर राजनीतिक माहोल र मतदाताको मनोविज्ञानमा पर्ने प्रभाव समेत हो । त्यसको मार यसपटक एमालेका उम्मेदवारहरुले खेप्नुपर्ने परिस्थिति निर्माण भएको छ । उच्च मनोबलसहित सत्तारुढ गठबन्धन संयुक्त चुनाव कार्यक्रममा जाँदा एमालेका निम्ति प्रतिकुल माहोल सिर्जना हुन सक्छ ।

राजनीतिक सन्देशसँगै २०७४ को चुनावमा वडाध्यक्षहरुको पाएको मत जोड्ने हो पनि पनि एमालेलाई महानगर जित्न सजिलो हुने देखिन्न । त्यो चुनावमा गठबन्धनका वडाध्यक्षहरुको उम्मेदवारहरुले पाएको मत जोड्दा ८०,६३४ हुन्छ भने एमालेका वडाध्यक्षहले पाएको मत ७३,१२४ हो । त्यसबेला राप्रपाले पाएको मत (१०,५३९) जोड्दा थोरैले मात्रै एमाले अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com