सबैलाई पठाउनु होला

फिदिम  –  सत्ता साझेदारी दलका शीर्ष नेताहरूले स्थानीय तहमा गठबन्धन गरेर चुनावमा भाग लिन दिएको निर्देशन पूर्वका जिल्लाहरूमा कार्यान्वयन नहुने देखिएको छ। १ नम्बर प्रदेशका जिल्लास्थित नेताहरू केन्द्रीय निर्देशनविपरीत चुनावको तयारीमा छन्। यस्तो तयारीले पाँच दलीय गठबन्धन सकसमा रहेको  छ।

गठबन्धनमा आबद्ध दलका नेताहरूले एक अर्का पार्टीलाई चुनावी तालमेल गर्न इमान्दार नबनेको आरोप लगाउन  समेत थालेका छन्। नेकपा (एकीकृत समाजवादी),  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि प्रदेश १ मा गठबन्धन धर्मराएको हो।

सिट बाँडफाँटमा  माओवादी र कांग्रेसबीच ठूलो मतभेद छ। कांग्रेसको अस्वाभाविक दाबीका कारण गठबन्धन धर्मराएको माओवादी केन्द्रका  प्रदेश १ अध्यक्ष हर्क नेम्बाङको आरोप रहेको  छ। ‘प्रदेशमा गठबन्धन धर्मराएको छ,’ नेम्बाङले भने, ‘कांग्रेसका कारण गठबन्धन समस्यामा परेको हो। तर, हामी गठबन्धनलाई भत्कन नदिने कोसिमा रहेका छौं।’

इलाम, संखुवासभा र सोलुखुम्बुमा  माओवादी र कांग्रेसबीच गठबन्धन नहुने निश्चित भएको नेम्बाङले बताएको छ । पाँचथर, ताप्लेजुङ र तेह्रथुममा पनि गठबन्धनको सम्भावना करिब टुंगिएको छ। माओवादीले आफ्नो हैसियतभन्दा धेरै भाग खोजेपछि समस्या आएको  कांग्रेसको भनाइ रहेको  छ। ‘केन्द्रले पठाएको मापदण्डअनुसार सिट बाँडफाँट गर्नुपर्नेमा हामी स्पष्ट छौं,’ कांग्रेस पाँचथरका सभापति रूपनारायण जबेगुले भने, ‘माओवादीले आफ्नो हैसियतभन्दा धेरै सिट दाबी गर्दा समस्या आएको हो’ ।

पाँच दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेर पठाएको डकुमेन्टको आधारमा सिट बाँडफाँट गर्न कांग्रेस तयार भएको तर, माओवादीले बखेडा झिकेर समस्या आएको जबेगुको तर्करहेको  छ।  कांग्रेस र माओवादीको अडानका कारण गठबन्धन समस्यामा परेको जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरू बताउँछन्।

‘पाँचथरको हकमा माओवादीको दाबी हाम्रो पार्टीलाई अस्वाभाविक लागेको छ,’ जसपाका एक नेताले भने, ‘माओवादीको दाबी सुन्दा हामीलाई नै अच्चम्म लाग्छ। उसको दाबीलाई कांग्रेसले मान्ने स्थिति हामी देख्दैनौं।’ सिट बाँडफाँटमा २०७४ सालको चुनावमा प्राप्त गरेको मत परिणामलाई आधार मान्नुपर्ने केन्द्रको निर्देशन रहेको  छ। गठबन्धनका सबै दलले आफ्नो पार्टीले प्राप्त गरेको मतभारभन्दा धेरै सिटको दाबी गरेपछि गठबन्धन सकसमा  परिरहेको  हो।

प्रदेश १ मा जम्मा १ सय ३७ सिट छन्। यसअघिको चुनावमा कांग्रेसले ५१ सिट र माओवादीले ९ सिट जितेको थियो। नेकपा एमालेसँग पराजित बनेको अधिकांश स्थानीय तहमा कांग्रेस दोस्रो पोजिसनमा  रहेको छ। यसअघिको चुनावमा एकीकृत समाजवादी पार्टीको जन्म भएको थिएन। पाँचथरमा एक नगरपालिकासहित आठ स्थानीय तह छन्।

इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन्। जम्मा ८१ वडा रहेको इलाममा एक नगरप्रमुखसहित ३५ वडाध्यक्षको सिटमा माओवादीले दाबी गरेको छ। एकीकृत समाजवादीले दुई गाउँपालिका र १ नगरपालिकाको प्रमुखमा दाबी गरेको छ। नेपाली कांग्रेसले ८ पालिका प्रमुखमा दाबी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com