चितवन – सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार पारेका छन् ।
बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् ।
जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने भएका छ । कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएका छन् ।
यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने भएको छ ।
भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ । कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने भएको छ ।
यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउने भएको छ । माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेसको भागमा परेको रत्ननगर, कालिका र खैरहनी यसअघि एमालेले जितेका पालिका हुन् ।
इच्छाकामना गाउँपालिकाको उपप्रमुखमा माओवादीले दाबी गरिरहेको छ । तर कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको हुन ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने जनाएका छन । उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी रहेको छ ।
बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने कांग्रेस जिल्ला सभापति खनालले जनाएको छ । उनले पालिकाको नेतृत्व टुंगो लगाएपछि वडाहरुमा समेत भागबन्डा गरेर सहमतिमा पुग्ने बताएको छ ।
चितवनमा सत्ता गठबन्धन दलहरुको समिति बनाइएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा चुनावी तालमेल र सिट बाँडफाँट समिति बनेको हो ।
समितिमा नेकपाका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका इन्चार्ज कृष्ण खनाल, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, जसपाका अध्यक्ष प्रेम भुजेल, नेकपा समाजवादीका सूर्यप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका यमबहादुर परियार र नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल सदस्य रहेका छन् ।

