काठमाडौं, ९ बैशाख – नेपालका कम्युनिष्ट पार्टीहरुद्वारा आज ७४ औं स्थापना दिवस मनाइँदै छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
नेकपा एमालेले आज कम्युनिष्ट योद्धाहरुको सम्मान, पार्टी केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठान थापाथलीबाट ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ । एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिने जानकारी दिए । यी कार्यक्रमहरु दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा हुने छन् ।
यसैगरी आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा नेकपा माओवादी केन्द्रले विशेष कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
तत्कालिन जहानियाँ राणा शासनको समयमा बिक्रम सम्वत् २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए । त्यसबखत पुष्पलाल श्रेष्ठ नै पार्टीका महासचिव बनेका थिए ।
बिक्रम सम्वत् २०४६ को जनआन्दोलन पछि नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा बलियो छाप पारेका थिए । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको नेतृत्व गर्दै पटक–पटक सरकारको नेतृत्वसमेत गरे । तर जनअपेक्षा अनुसारका काम हुन नसकेको गुनासो व्याप्त भैरहेकोछ। कम्युनिष्ट पार्टीका नेताहरु नै गैरकम्युनिष्ट चरित्र भएको भन्दै आलोचित भएका छन्।
बिक्रम सम्वत् २०७४ सालमा नेकपा एमाले र माओवादी मिलेर चुनाव लड्नुका साथै त्यस लगत्तै पार्टी एकतासमेत भएको थियो । तर एकताको १८ महिनामै सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि यी दुई दल पुरानै अस्तित्वमा फर्किएका छन् । स्थापनाको सात दशकको इतिहासमा कम्युनिष्ट पार्टीहरु टुटफुट र विभाजनबाट गुज्रिंदै आएका छन् ।

