सबैलाई पठाउनु होला

काठमाडौं –   बिलासी वस्तुको आयातको प्रतीतपत्र  खोल्न रोक्ने निर्णय हुने निश्चित भएपछिको अन्तिम समयमा विवादास्पद पृष्ठभूमिका व्यापारीहरुको एक कम्पनीले ठूलो संख्यामा बिलासी गाडीको आयातका लागि प्रतीतपत्र खोलेको खुलासा भएको छ ।

राष्ट्र बैंकबाटै सूचना बाहिरिएपछि एक कम्पनीले एलसी रोकिनुभन्दा ठीक ४ दिनअघि एकैपटक ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति पाएको खुलेको  छ  । अफसोर लगानीमा संलग्न विवादित व्यापारी सुहृद घिमिरे र पुरुषोत्तम पौड्यालको गाडी बिक्री गर्ने कम्पनीले आयातमा प्रतिवन्ध लाग्ने पूर्वसूचनाका आधारमा १० दिनभित्रै दुई पटकसम्म एलसी खोलेको राष्ट्र बैंक स्रोतले  दावी  गरेको छ ।

राष्ट्र बैंकले अर्थतन्त्रको सुधारका लागि आयातमा प्रतिबन्ध लगाउने वस्तुको सूची तयार पारेर अर्थ मन्त्रालयलाई बुझाउनुअघि नै केन्द्रीय बैंकबाट सूचना चुहिएको   जानकारी दिएको थियो । त्यही सूचनाका आधारमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ६३० वटा बिलासी कार आयातका लागि नबिल बैंकमार्फत एलसी खोलेको भेटिएको छ ।

कन्टिनेन्टल नेपालका लागि कोरियन कम्पनी किया मोटर्सको आधिकारिक बिक्रेता हो । शंकास्पद ढंगबाट सूचना बाहिरिएको दावी गर्दै सरकारले चैत २३ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट अधिकारी पुनः काममा फर्किएका छन् ।

अल्पकालीन अन्तरिम आदेशसँगै अधिकारी माथि सरकारले पुरुषोत्तम भण्डारीको नेतृत्वमा बनाएको जाँचबुझ समिति पनि निष्कृय भएको छ । यही बेला राष्ट्र बैंकबाट सूचना चुहिँदा व्यापारिक समूहले लाभ लिने गरी ठूलो मात्रामा गाडी आयातको लागि विदेशी मुद्रा बाहिरिने गरी अनुमति दिएको खुलेको  थियो ।

एलसीबारे  जिज्ञासामा नबिल बैंकले यो सूचना सार्वजनिक गर्न नमिल्ने  बताएको थियो  । यसैगरी गभर्नर महाप्रसाद अधिकारीले आफू अहिले प्रतिक्रिया दिन असमर्थ रहेको बताएका छन्  ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सवारी साधनसहितका वस्तुको आयात रोक्ने सूची अर्थमन्त्रालयमा बुझाउनुअघि र पछिको छोटो अवधिमा सूचना चुहिएका कारण किया मोटर्सका लागि एकैपटक ६३० थान कार आयातको एलसी ९आयातमा गरिने भुक्तानीको बैंक ग्यारेण्टी ० जारी  गरिएको छ  ।

‘विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सवारी साधनसहितका वस्तुको आयात रोक्ने सूची अर्थमन्त्रालयमा बुझाउनुअघि र पछिको छोटो अवधिमा सूचना चुहिएका कारण किया मोटर्सका लागि एकैपटक ६३० थान कार आयातको एलसी ९आयातमा गरिने भुक्तानीको बैंक ग्यारेण्टी० जारी भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘कम्पनीले डीईए सोनेट ३८० थान र किया सेल्टोस २८० थान गरी कुल ६३० थान गाडी आयातका लागि बैंकबाट एलसी खोलेको छ ।’ कम्पनीले कुल ७० करोड ८ लाख ८६ हजार ८७२ रुपैयाँमा गाडी किन्ने गरी एलसी खोलेको छ  ।

१ देखि २२ चैत, २०७८ सम्म खुलेका एलसीको विवरणअनुसार गाडी आयातमा सबैभन्दा बढी एलसी कियाका लागि नबिल बैंकले खोलेको छ । कार आयातका लागि अन्तिम एलसी जारी भएलगत्तै राष्ट्र बैंकले सवारी साधनसहितका वस्तुको आयात रोक्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।

६ दिनको फरकमा अर्को स्वीकृति

कन्टिनेन्टल ट्रेडिङ प्रालिले ६ दिनको फरकमा ठूलो मात्रामा कार आयातको एलसीको स्वीकृति पाएको छ  । २८० थान सेल्टेस गाडीको आयातका लागि २०७८ चैत ११ गते एलसी स्वीकृत भएको थियो भने ३८० थान सोनेट कारका लागि १७ चैतमा एलसी स्वीकृत भएको  प्राप्त कागजातमा देखिन्छ । नबिल बैंकले सेल्टेस गाडीको लागि एलसी नम्बर ‘२२ डीसी ०१ आईएनएफम’बाट २३ करोड ४९ लाख ५२ हजार ५९५ भारतीय रुपैयाँमा र सोनेट कारका लागि एलसी नम्बर ‘२२ डीसीडी १ आईएनएफ’बाट २० करोड ३१ लाख एक हजार ७ सय भारतीय रुपैयाँको एलसी जारी  भएको  देखिन्छ ।

नेपाली बजारमा सेल्टेस गाडी ४८ देखि ८० लाख रुपैयाँसम्मा बिक्री हुन्छ भने किया सोनेटको मूल्य ३५ लाखबाट सुरु भएर ६० लाख रुपैयाँसम्म पर्छ । ‘एक महिनाको अवधिमा नै शोधानान्तर ५० अर्बले घटेपछि आयात रोक्नेबारे पटक–पटक अर्थमन्त्रालय र राष्ट्र बैंकबीच छलफल भएको थियो, राष्ट्र बैंकले नीतिगत व्यवस्थाको तयारी थालेपछि एकैपटक ठूलो संख्यामा कुनै व्यापारिक समूहले गाडी ल्याउने गरी एलसी खोल्नु संयोग मात्रै हैन,’ स्रोत भन्छ, ‘रोक लगाउनुअघि दुई पटकसम्म एलसी खुल्नु नै सूचना बाहिरिएको बलियो आधार रहेको छ  ।’

नबिल बैंकबाट जारी एलसीअनुसार आगामी जेठ १० गतेबाट सेल्टेस कारको आयात सिपमेन्ट सुुरु हुनेछ भने २४ जेठबाट सोनेट गाडीको सिपमेन्ट हुने देखिन्छ । १ देखि २२ चैतसम्म सवारी साधन र यसको पार्टपूर्जा आयातका लागि एक अर्ब १३ करोड ९६ लाख २४ हजार ९७९ रुपैयाँको २४ वटा एलसी खुलेको थियो । जसमा कियाको गाडीको हिस्सा ७० करोडभन्दा बढीको छ । आयात रोकेपछि अन्य गाडीको आपूर्ति प्रभावित भएको अवस्थामा अब कियाका काडीले केही समय एकछत्र बजार पाउने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com