हेटौंडा – हेटौंडा उपमहानगरपालिका–९ स्थित दिब्य बाल उद्यानमा राखिएको मदन भण्डारी र जीवराज आश्रिताको शालिक तोडफोड भएको छ ।
बिहीबार राति अज्ञात समूहले पार्कमा रहेको भण्डारी र आश्रितको शालिक तोडफोड गरेको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताएका छन् ।
पार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भण्डारीले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको दाबी गरेका छन् ।
शुक्रबार बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समिति र प्रहरीलाई खबर गरेका हो ।
मदन भण्डारीको शालिकको शीर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताएका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीले पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको बताएका छन् ।
उनले भने , ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौं, दोषिलाई पक्राउ गरी आवश्यक कारबाही गर्छौं’ ।

