काठमाडौं – फिल्म निर्देशक मनोज पण्डितले आगामी संसदीय चुनावमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सो निर्वाचन क्षेत्र नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र समेत रहेको छ ।
सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिने तयारी गरिरहेका बाँस्कोटालाई चुनौती दिन आफूले उम्मेदवारी दिन लागेको निर्देशक पण्डितले बताएको छ । फेसबुकमा लामो स्टाटस लेख्दै पण्डितले ‘भ्रष्टाचारीले खुल्लमखुल्ला चुनाव लड्ने हाँक दिएकाले आफू मौन रहन नसक्ने’ समेत उल्लेख गरेका छन् ।
‘मलाई थाहा छ, मैले दुई चारभन्दा बढी भोट ल्याउँदिन तर एउटा भ्रष्टाचारीले खुलेर जनतालाई धम्की दिन्छ भनेर फिल्ममेकरको रुपमा म कसरी मौन रहन सक्छु ’, पण्डितले भने ।
चुनाव हार्ने निश्चित भएपनि आफ्नो उम्मेदवारी अर्थपूर्ण भएको पण्डितले बताएको छ । उनले भने, ‘हामी भ्रष्टाचारीका कुरा सुनेर ताली बजाउने मान्छे होइनौं । त्यसलाई चुनौती दिन उम्मेदवारीको घोषणा गरेको हुँ’।

