काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैंले करोड बढीको सेयर खरिद गरेर राखेको पाइएको छ । गभर्नर अधिकारीले आजका मितिमा पनि करिब ४ करोड रुपैयाँ बराबरको सेयर राखेका छन् ।
राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय हो । आफैं नियामक भएर आफैंले सेयर खरिद बिक्री गर्दा स्वार्थ बाझिने भए पनि गभर्नर अधिकारीले सेयर कारोबार गर्ने गरेको पाइएको छ ।
गभर्नर अधिकारीले आफ्नै नाममा, श्रीमती सरिता अधिकारी पोखरेलको नाममा, छोरा सौगात अधिकारी र छोरी महिमा अधिकारीको नामबाट सेयर खरिद बिक्री गर्ने गरेका छन् । उनले आफ्नो घर परिवारको नाममा मात्रै ३ करोड ८४ लाख हाराहारीको सेयर खरिद गरेर राखेका छन् ।
यसबाहेक अधिकारीले आफ्ना ससुरालीतर्फका आफन्तहरुको नाममा समेत सेयर राखेको राष्ट्र बैंक स्रोतले बताएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधनसहित) मा भएको व्यवस्था अनुसार राष्ट्र बैंंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान्/श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा इजाजतप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न पाइने छैन ।
सोही विनियमावलीमा कुनै बैंक तथा वित्तीय संस्थाको शेयर दोस्रो बजारबाट खरिद गर्न नहुने समेत स्पष्ट लेखिएको छ । यसको प्रतिकूल हुने गरी गभर्नर अधिकारी आफैंले र आफ्ना घरपरिवारका नाममा सेयर खरिद गरेका छन् । तत्कालीन गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको पालामा राष्ट्र बैंकका गभर्नर वा अन्य कर्मचारीले बैंकहरुको सेयर किन्नै नमिल्ने व्यवस्था गरिएको थियो ।
क्षेत्रीले अवकास पाएपछि त्यसलाई हटाएर १८ वर्ष माथिका छोराछोरी र आफू पदमा बहाल हुँदामात्रै नपाउने व्यवस्था गरियो । गभर्नर अधिकारीले पनि नियममा भएको लुपहोल खोज्दै दोस्रो बजारबाटै धमाधम सेयर उठाउने गरेका हुन् । राष्ट्र बैंकबाट अवकास पाएको केही वर्षमात्रै गभर्नर अधिकारी लगानी बोर्डको सीईओको रुपमा नियुक्त भएका थिए ।
दोस्रो बजारबाटै उठाउँथे सेयर
गभर्नर अधिकारीले साधारण सेयर आईपीओ भरेर पाएको सेयर समेत रहेको छ । तर त्यो भन्दा धेरै उनले सिधै दोस्रो बजारबाट समेत सेयर उठाउने गरेको पाइएको छ । राष्ट्र बैंकमा लामो समय जागिर खाएर डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीलाई तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा नगरेको भनेर अधिकारी विरुद्ध त्यसबेला योग्यताको विषयमा सर्वोच्चमा मुद्दा समेत परेको पनि थियो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छँदै उनले विभिन्न बैंकहरुको सेयर दोस्रो बजारबाट किन्ने गरेको पाइएको छ ।
उनले आफ्नो सम्पत्ति विवरण बुझाउने क्रममा नै हिमालयन बैंक, नविल बैंक, सनराइज बैंक लगायतका कम्पनीहरुको सेयर दोस्रो बजारबाटै उठाउने गरेको स्वीकार गरे । उनले धेरैजसो सेयर आफ्नो नाममा भन्दा श्रीमती र छोरा–छोरीका नामबाट खरिद बिक्री गर्ने गरेका रहेछन ।
गभर्नरमा नियुक्त भइसकेपछि भने उनले नजिकका नातेदारहरुलाई सूचना चुहाएर समेत सेयर खरिद गर्न लगाएको राष्ट्र बैंक निकट स्रोतले दाबि गरेका छन् ।
कहाँ कति छ सेयर ?
गभर्नर अधिकारीले आफ्नो नाममा ५ वटा औद्योगिक संस्थाहरुको सेयर राखेका छन् भने श्रीमती, छोरा र छोरीको नाममा नविल बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक , सिद्धार्थ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशिया बैंक तथा प्रिमियर इन्स्योरेन्स लगायतका कम्पनीको २७ हजार १८४ कित्ता सेयर किनेको बताए ।
यी कम्पनीहरुको सेयर खरिद गर्दा ४८ लाख ३७ हजार ३९० रुपैयाँ आफूले खर्चिएको गभर्नर अधिकारीले बताए । तर अहिले यी कम्पनीहरुको सेयर मूल्य करिब ३ करोड रुपैयाँ पुगेको छ । गभर्नर अधिकारीले आफ्नो र श्रीमती सरिताको नाममा नबिल ब्यालेन्स फण्ड–२ को १ लाख ८० हजार कित्ता सेयर समेत किनेको सम्पत्ती विवरणमा उल्लेख गरे ।
यसैगरी गभर्नर अधिकारीले परिवारका सदस्यहरुको नाममा चिलिमे हाइङ«ोपावर, सानिमा माई, एचआईडीसीएल, र माथिल्लो तामाकोशीको मात्रै २७ हजार ९२९ कित्ता सेयर खरिद गरेका छन् ।
अहिलेको बजार मूल्य अनुसार डेढ करोड रुपैयाँ हाराहारीमा पर्ने यो सेयर गभर्नर अधिकारीले आफूले दोस्रो बजारबाटै किनेको स्वीकार गरे । आफैं नियामक निकायमा बसेर यसरी दोस्रो बजारबाट सेयर उठाउनु नियम संगत होइन । यतिमात्रै होइन उनले मध्य तमोरको सेयर किन्न ५० लाख रुपैयाँ एडभान्स दिएको समेत सम्पति विवरणमा उल्लेख गरेका छन् ।
यसरी दोस्रो बजारबाट सेयर किन्ने गरेका अधिकारीले पछिल्लो समय सेयर बजारमा कडाइको नीति लिएका छन् । उनले मौद्रिक नीतिबाटै सेयर धितोमा जाने कर्जामा ४/१२ को क्याप लगाएका हुन ।
जग्गामा पनि लगानी
गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । खोटाङ जिल्लाको खोटेहाङ स्थायी घर भएका गभर्नर अधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाउँदा झापाको ५ ठाउँमा ४० विगाहा भन्दा धेरै जग्गा तथा काठमाडौं उपत्यकाको ललितपुरमा पनि ५ ठाउँमा ५८ रोपनी भन्दा धेरै जग्गा रहेको उल्लेख गरे ।
गभर्नर अधिकारीले हेटौंडा उपमहानगरपालिकामा समेत घडेरी जोडेको बताएका छन् । उनले यी सबै सम्पत्ति आफ्नो श्रीमती सरिताका नाममा राखेका छन् । ललितपुरमा २२ सय वर्गफिटमा फैलिएको भवनमा गभर्नर अधिकारी अहिले बसोबास गर्दै आएका छन् ।

