सबैलाई पठाउनु होला

नेपाल –   यो सुुनेर दुःख लाग्नेलाई फेरि अर्को दुःख थपिन्छ, जब घण्टाघरको फेदमा पुगिन्छ। राजधानीवासीलाई समय देखाउने र यसको महत्व सिकाउने ‘घडी–टावर’ वर्षौंदेखि बेस्याहार छ। लाग्छ– ‘नाथे’ समयको के काम ? उपत्यकाको कोलाहालभित्र घण्टा, मिनेट र सेकेन्ड टिकटिक गर्ने वीर शमशेरको चिनो ढल्ने अवस्थामा  पुगिसकेको  छ।

त्रिचन्द्र क्याम्पसका प्राविधिक कर्मचारी गणेश सापकोटा भन्छन्, ‘घण्टाघर समयको सूचक मात्रै होइन, एउटा कालखण्डको लामो इतिहास पनि हो। तर, मैले कतिन्जेल स्याहार्ने ?’  । उमेरले ६ दशक पार गरेका उनलाई आफ्नो उमेरसँगै क्याम्पसको ढल्दै गरेको जागिरे समय र घण्टाघरको समय उस्तै होला कि भन्ने पीर परिरहेको छ। २०४४ सालदेखि निरन्तर दिएको घडीको दम कसले दिने चिन्ता छ। घण्टाघरको सबैभन्दा बढी कसैलाई चिन्ता छ भने आज उनै गणेशलाई मात्रै रहेको छ। भन्छन्, ‘म र घडी पर्यायवाची शब्दजस्तै भयौं। तर, मैलै मात्रै काँध हालेर थामिएला र ?’ ऐतिहासिक सम्पदा घण्टाघरको अभिभावकत्व ग्रहण सरकारले गर्नुपर्ने हो।

अझ काठमाडौं महानगरको दायित्व बढी हो। तर, सरकारमा पुग्ने दल र व्यक्तिलाई कुर्सी र काठमाडौं महानगरका जनप्रतिनिधिलाई पाँचवर्षे कार्यकालको मात्रै महत्त्व भयो। घण्टाघर कोल्टे पर्‍यो भन्छन्, सापकोटा। विभिन्न समयमा आएको भूकम्प र आगलागी खेपेको घण्टाघर लेउ र झारका जराले चिराचिरा पार्दैछ। माकुराको जालोले जेलिँदै छ।

कुनै समय हरेक तह र तप्काका व्यक्तिलाई समय अवगत गराउने घण्टाघर अहिले समय–समयमा चुपचाप हुन्छ। आवाजविहीन बन्दै सुइले २४ घण्टामा एकपटक मात्रै पनि समय दिन्छ। तर, मध्य सडक छेउमा ठडिएर समय सचेत गराउने घण्टाघरको हाल  बुज्ने  फुर्सद तिनै घण्टाघरको आवाजले बिउँझिएर भविष्य कोरेकाहरूलाई छैन।

चलचित्र गोर्खालीको गीत ‘काठमाडौंको बीचैमा घण्टाघर, अल्लारेको हुँदैन कुनै भर’ ले मात्रै सम्झाउने हो कि भन्ने चिन्ता इतिहासकारलाई छ। अहिले तलैभरि माकुराले जालो बुनेको छ। भूकम्पले चर्किएका चिराबाट छिरेको पानीको कत्लाले यसको वास्तविक रङ उडेको छ। साँघुरो भर्‍याङका पाइलैपिच्छे परेका सुली र चराचुरुंगीका गुँड भेटिन्छन्।

त्रिचन्द्र क्याम्पसको आँगनमा ठडिएर पनि मुलकुको सान बन्न सकेको छैन घण्टाघर। यसको छहारीमा पढ्नेले आफ्नो जीवनमा रंग फेरेको छ । मुलकमा शासन व्यवस्था परिवर्तनको काम गरेको छ । तर, घण्टाघरलाई दह्रो बनाउने काम नगरेको बताउँछन् इतिहासकार प्राध्यापक डा. राजेश गौतम।

‘घण्टाघर यस्तो सम्पदा हो जसको महत्त्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन्। कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गरेको थियो। कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैं समय चिन्न सकिरहेको छैन,’ उनी  भन्ने गर्छन ।

घण्टाघरको इतिहास

राणा शासकका सातौं तथा नेपालको ११औं प्रधानमन्त्री वीर शमशेरको (वि.स. १९०१–१९५७) कार्यकालमा घण्टाघर निर्माण भएको  थियो । लन्डनको बिग वेन शैलीमा यसलाई निर्माण गरिएको छ। यसको घण्टीले १९५१ सालदेखि समयको सूचना दिन सुरु गरेको इतिहास  भेटीएको छ । त्यस बेला सहरवासी यही घडीलाई आधार बनाएर आफ्नो दैनिक क्रियाकलाप  गर्ने गर्थियो ।

सुरुमा घण्टाघर आजको जस्तो नभएको कुरा जानकारहरू बताउँछन्। १९९० सालको भूकम्पपछि भने यसको आकार बदलिएर आजको अवस्थामा आएको बताउँछन्, इतिहासविद् प्रा.डा. गौतम। घण्टाघरको घडी राणा प्रधानमन्त्री वीरशमशेरले बेलायतबाट मगाएका थिए। प्रमाणका रूपमा घडीको तलतिर पहेँलो पृष्ठ छ। भूमिमा वीरशमशेरको नाम कुँदिएको छ।

इतिहासविद्का अनुसार वीरशमशेरले चार छोराका निजी निवासमा राख्न चारवटा ठूला घडी मगाएका थिए। तर, संयोजन नमिलाई चलाउन नसक्ने भएपछि ती घडीका साटो आफ्नै निवासमा एउटा युरोपेली शैलीमा टावर बनाएका थिए।

सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार घण्टाघरमा जोडिएका घडीका धेरै सामान बेलायतबाट नै ल्याइएको हो। मौलिक घण्टाघरको डिजाइन गर्ने व्यक्तिका रूपमा जोगवीर स्थापितलाई चिनिने र त्यो समय स्थापितले नै थुप्रै डिजाइन कार्य गरेकाले घण्टाघर डिजाइनको श्रेय पनि उनलाई जाने तर्क तिवारीको रहेको छ। तर, कतै कतै घण्टाघरको निर्माण नेपाली इन्जिनियर दाजुभाइ कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले गरेको पनि उल्लेख गरिएको भेटिएको छ ।

जापानबाट विशेष तालिम लिएर फर्केपछि यी इन्जिनियरद्वयले घण्टाघरको डिजाइन ‘टावर’ शैलीमा गराएको केही पुस्तकहरूमा उल्लेख गरिएको छन्।
१९९० को महाभूकम्पले घण्टाघर आफैंलाई सन्नाटाघरमा परिणत गर्‍यो। केही समयमै जुद्धशमशेरले त्यही जगलाई उठाएका थिए । पहिलेको वनावट नभए पनि अर्को घण्टाघर निर्माण गर्न लगाए। जुन आज हाम्रो अगाडि  रहेको छ।

१९९० को भूकम्पपछि धेरै कम्पन र परकम्प थामेको यसले २०७२ सालको भूकम्पलाई पचायो। नजिकैको धरहरा र रानीपोखरीको स्वरूप फेरियो तर समय दिने घण्टाघर फेरिएन। १८औं र १९औं शताब्दीताका सहरको मध्यभागमा ठूलाठूला घडी राख्ने प्रचलन रहेको थियो।

त्यो प्रचलनको साक्षी घण्टाघरलाई अहिले मोबाइल र हातमा अडिएका घडीले विस्तारै बेवास्ता गराएको सम्पदाविद् तिवारीको बुझाइ रहेको छ। हाम्रो घण्टाघरजस्तै बेलायत, इजिप्ट, भारतजस्ता धेरै मुलुकमा पाइन्छ। अहिले समय नै हेर्नका लागि समस्या छैन। समय हेर्न मोबाइल, हातेघडीहरू सस्तोदेखि महँगासम्म पाइन्छ। तर, अन्य देशले घण्टाघरलाई संरक्षण गरेर राखेका छन्।

२०३८ सालमा भएको आगलागीले घडीले समय दिन सकेको थिएन। तर, २०४४ सालमा काठमाडौंमा दोस्रो सार्क सम्मेलनताका घडी मर्मतको आवश्यकता महसुस गरी घडीलाई पुरानै लयमा फर्काइएको थियो।

दक्ष जनशक्तिको अभावमा त्रिचन्द्र क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका गणेश सापकोटाले १३ दिन घण्टाघरको अध्ययन गरी पुनः घडी चलाएका थिए। घण्टाघरको सुईं मिलाउन र दम दिन दुई सातामा एक पटक सापकोटालाई सहयोगी चाहिन्छ।

संरक्षणमा किन पुगेन ध्यान ?

राणा प्रधानमन्त्रीले घण्टाघर बनाएक थिए । तर, यसको संरक्षणमा अहिले कोही जिम्मेवार छैनन्। भवनको सामान्य सरसफाइ र मर्मतमा त्रिचन्द्र क्याम्पसले नै ध्यान दिँदै आएको छ। घण्टाघर सग्लो उभिए पनि सँगै जोडिएका कलेजका भवन चर्किएर भत्किएका छन्। केही ठाउँमा झार पलाएको छ। सडकका कुकुर लुक्ने ठाउँ बनेको छ।

कुनै बेला प्रतिष्ठित भवनका रूपमा रहेको घण्टाघर स्याहार र संरक्षणको जिम्मा काठमाडौं महानगरपालिकाले लिने भनेर बेलामौका चर्चा भए पनि काम नभएको बताउँछन् सापकोटा। कुनै पनि निकायले यसको जिम्मेवारी नलिँदा ऐतिहासिक महत्त्वको घण्टाघर बेवारिसे बनेको सापकोटाको भनाइ छ।

‘आजसम्म घण्टाघर हाम्रोअन्तर्गत हो भन्ने कोही आएका छैनन्। मलाई माया लागेर स्याहार गर्छु। घडी मर्मतका लागि आजसम्म त ठूलो रकम खर्च गर्नु परेको छैन। सामान बिग्रिए विकल्प के गर्ने थाहा छैन,’ उनले भने।

यो ऐतिहासिक सम्पत्ति भएकाले यसमा पुरातत्त्व विभागले ध्यान दिनुपर्ने उनी बताउँछन्। ‘पहिलेकै पार्टपुर्जाले काम गरिरहेको छ, एउटा दाँती भएको पार्ट बिग्रिएको थियो। नयाँ किनेर ल्याएर लगाएको तर थामेन। पहिलेकैलाई मर्मत गरेर चलाएको यसले नै थाम्छ। अब घडी र प्राविधिक पाटोमा समस्या छैन,’ उनी भन्छन्, ‘यसको व्यवस्थापन र संरक्षण मुख्य कुरा हो।’

३५ वर्षदेखि एक्लै दम दिँदै गणेश

त्रिचन्द्र क्याम्पसका कर्मचारी हुन्, गणेश सापकोटा। उनले नै विगत ३५ वर्षबाट जीर्ण घडीलाई जीवन दिइरहेका छन्। ‘अहिले त यो मेरो परिवारको सदस्य जस्तै भइसकेको छ,’ उनी सम्झँदै भन्छन्, ‘बेलुका घर गएको बेला पनि घण्टा बज्न त छाडेन भन्ने चिन्ता लाग्छ।’

उनी घडीसँग २०४४ सालमा जोडिन पुगेका हुन्। २०३८ सालमा घण्टाघरमा आगलागी भएपछि बन्द भएको घडीलाई उनले मर्मत गरेर चलाएका हुन्। सार्क सम्मेलन हुने भएपछि घडी चलाउन जान्ने प्राविधिकको खोजी गर्दा उनले नै आँट गरेका थिए।

‘न मैले कहिले यहाँ पसेर हेरेको थिएँ, न त यसको पार्टपुर्जाको बारे नै जानकारी थियो,’ उनले त्यो दिन सम्झँदै भने, ‘बनाउन सक्छु भन्ने आँट थियो बनाएँ। तर, अब कसलाई सिकाउँ। त्यसै छाड्न पनि माया लाग्छ।’ २०४४ सालमा काठमाडौंमा सार्क सम्मेलन हुने भएपछि पाहुनालाई देखाउन जसोतसो चलाउन सुरु गरेको घडीको दम दिने जिम्मा उनलाई नै भयो।

अहिले पनि ब्याट्री जत्तिकै बनेर निरन्तर दम दिन्छन्। समय भेट्न सुईंलाई दौडाउँछन्। पहिले त्यहीँ घण्टाघरका लागि ७ जनासम्मको कर्मचारी दरबन्दी सरकारले राखेको थियो। अहिले त्यसका लागि फाल्टै कर्मचारी कसैले नराखेको उनी बताउँछन्। ‘त्यस्तै मान्छे हुने हो भने अस्ति छाड्ने थिएँ। मलाई त्यस्तो लागेन।

घण्टाघर सुनसान भएको म हेर्न सक्दिनँ। अब अवकाशपछि मेरो मन कसरी थामिएला। ऊ बिना म टुहुरो, मबिना ऊ जस्तै लाग्छ,’ उनी भन्छन्। २०४४ सालमा घडीको विषयमा भवनभित्र पसेर सिक्दा आफू १४ दिन १३ रात त्यहीँ बसेको उनको अनुभव छ। ‘त्यसबेलासम्म त्रिचन्द्र क्याम्पसमै प्राविधिकको रूपमा काम गर्थें। पहिलेका कर्मचारीले सामान्य सुईं घुमाउन सिकाएकै आधारमा मैले जिम्मा लिएँ,’ उनी थप्छन्।

अहिले कलेजले भन्दा पनि घण्टाघरले आफूलाई इज्जत दिएको उनी ठान्छन्। भन्छन्, ‘हुन त म कलेजबाट यहाँ जोडिएँ। अहिले त घडी भन्नसाथ मेरो पनि नाम जोडिएर आउँछ। मेरो जीवनमा कमाएको सम्पत्ति यहीँ हो जस्तो लाग्छ।’

पहिले बाहिरबाट मात्रै यसलाई देखेका उनी अहिले यसका हरेक पार्टपुर्जासँग परिचित छन्। उनी यहाँ आउँदा पनि घण्टाघरले नियमित समय दिँदैनथ्यो। दिनमा ८–१० पटक घडी बन्द हुन्थ्यो। ‘अहिले सबै समय ठ्याक्कै बज्छ,’ गणेश भन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com