काठमाडौं – मैले काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडाअध्यक्ष भएर पाँच वर्ष काम गरेंको छु । वडाध्यक्षहरूलाई जस्तो कामको चाप मन्त्रीहरूलाई पनि हुदैन कि जस्तो लाग्छ । जनताले वडाअध्यक्षलाई नजिकको आफ्नो प्रतिनिधि ठान्दा रहेछन् ।
उनीहरूले घर, परिवार, टोल हरेक समस्या जनप्रतिनिधिले सम्बोधन गरिदेओस् भन्ने ठान्दा रहेछन् । माथिल्लो तहका सांसद, मन्त्रीपदसम्म पहुँच नहुने, वा पुग्न नसक्ने मानिस वडाअध्यक्षलाई समस्या सुनाउनुपर्छ भन्ने सोच्दा रहेछन् ।
हामी बिहान सबेरै उठेपछि राति ११/१२ बजेसम्म पनि फोन आएर सुत्न नपाउने अवस्था रहेको छ । छिमेकीको घरमा कुकुर भुक्यो भने पनि ‘वडाअध्यक्षज्यू, छिमेकीले पालेको कुकुर भुकेर बस्न, सुत्न सकिएन । तपाईंले समाधान गरिदिनुपर्यो’ भन्छन् ।
निर्वाचित भएलगत्तै एकपटक यस्तै गुनासो गर्न खोज्दा मेरो फोन उठेनछ । भोलिपल्ट वडावासी मकहाँ आएर गुनासो गरेको थियो ।
थुप्रै पटक राति कुकुरले टोकेकाले वडावासीहरूले नम्बर पत्ता लगाएर मलाई फोन गरेका छन् । अनि ‘कुकुरले टोक्यो, तपाईंले हेर्नुपर्छ’ भनेर गुनासो गर्छन् । धेरै पटक कुकुरले टोकेका पीडितहरूलाई नगर प्रहरीको मद्दतले उद्धार गरेर उपचार गर्नुपरेको छ । वडाअध्यक्षको पद एकदमै खट्नुपर्ने र समय दिनुपर्ने प्रकृतिको हुँदोरहेछ ।
घरमा श्रीमान्–श्रीमतीले झगडा गरे पनि समाधान गरिदिनुपर्यो भन्दै वडा कार्यालयमा आउँछन् । आमाछोरी झगडा भए पनि यही आउँछन् । टोलमा झगडा हुन्छ, वडा कार्यालयमा नै आउँछन् । धारामा पानी नआए पनि वडामा नै आउँछन् । फोहोर नउठे वडाअध्यक्षलाई फोन हान्छन् । बाटो मिचे पनि वडाअध्यक्षलाई गुहारेका छन् ।
मानिसले आफनो बसोबास र जीविका चलाउँदै जाँदा जहाँनेर अप्ठेरो पर्छ, वडाअध्यक्ष भनेर फोन हान्छन्, नभए वडा कार्यालयमा आउँछन् । कसैले पैसा लगेर तिरेन भने पनि आउने त्यहीं हो । कानुन अनुसार पनि वडाअध्यक्षले ३६ वटा विषयमा सिफारिस गर्नुपर्दो रहेछ ।
वडाअध्यक्ष बनेपछि यति धेरै कागजात र निवेदनमा हस्ताक्षर गर्नुपर्दो रहेछ कि सुरु–सुरुमा मेरो हात नै दुखेको थियो । पछि बानी परेपछि सजिलो हुँदै गयो । कलंकी जस्तो ठाउँ र ठूला वडा भएकाले झनै कामको चाप बढी हुने रहेछ । विदेशबाट आएकादेखि अनेक समस्या व्यहोरेकाहरूलाई सम्बोधन गर्नुपर्ने । कोरोना महामारीका बेलामा बिचल्ली परेकाहरूलाई यो वडाले हेरिदिएहुन्थ्यो भन्ने अरूको पनि अपेक्षा रहेको थियो ।
कलंकीसँग मेरो भावनात्मक सम्बन्ध रहेको छ । २०६२/६३ को जनआन्दोलनमा जुलुसमा जाँदा कलंकी चोकमा म घाइते भएँको थिए । बेहोश भएको बेलामा टिचिङ अस्पतालमा उपचारपछि म बाँचेकी हुँ । लामो समय म सहकारी अभियानमा थिएँ । श्रमिक महिलाहरूको बचत र आत्मनिर्भरताका लागि सहकारीमा सक्रिय भएँ । सामान्य रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूले बचत गर्ने र लगानी गर्ने अभियान चलाएको थियो ।
वडाअध्यक्ष भएपछि आफू आवद्ध सहकारी छाडेकी छु । समाजमा अहिले पनि पितृसत्तात्मक चिन्तन व्याप्त रहेको छ । यो चिन्तन महिलालाई नेता मान्न तयार हुँदो रहेनछन् । बाध्यकारी नभएसम्म महिलाहरू वडाअध्यक्षमा उम्मेदवारी दिन आउन नसक्दा रहेछन् । उम्मेदवारी पाए पनि निर्वाचित हुन कठिन हुँदोरहेछ । ‘महिलाले के गर्न सक्छन् र भोट दिनु ?’ भन्छन् ।
निर्वाचित भइसकेपछि मैले राम्रो काम गरें भनेर दाबी गर्छु । अरू पुरुष वडाअध्यक्षहरूको कामको तुलना गर्दा मैले नेतृत्व गरेको वडामा कुनै कमी र अभाव हुन नदिन प्रयास गरेकी छु । मेरो कार्यकालमा वडावासीको मन जितें । वडा कार्यालयको भवन बन्यो, खानेपानी लगायतका क्षेत्रमा काम गरियो । वडावासीलाई ढिलाइ हुन्छ भनेर तत्परताका साथ काम भयो ।
नराम्रो भए पनि मेयरले काम गर्न सकेन भनेर आलोचना हुँदोरहेछ । वडाअध्यक्षको काममा स्याबासी र जस कम हुन्छ । हुन पनि घरको मूली मान्छेले कहाँ जस लिन मिल्यो र ? हामी जनताका सेवक हौं भनेर चित्त बुझाएर बस्नुपर्दोरहेछ । संविधान र कानुनमा पालिका र वडामा अधिकार आयो, सिंहदरबार आयो भन्छन् ।
तर त्यो अधिकार आएको भए पनि कागजमा मात्रै सीमित रहेको छ, पूर्णता पाएको छैन । दिइएका अधिकारहरू बाझिएका छन् । कानुनमा तोकिएको भए पनि त्यस अनुसार कार्यान्वयन हुनसकेको भने छैन । वडा चलाउन गाह्रो रहेछ । म त अब एकदमै खटिएर लागेको छु । काम गरेर देखाउनुपर्छ र मैले पनि सक्छु भनेर अठोट लिएर नमूना वडा बनाउँछु भनेर लागेकी थिएँ ।
उज्यालो भएदेखि अँध्यारो हुँदा समेत वडा कार्यालय बस्नुपर्छ र यस्तै काममा भुल्नुपर्छ । हामीले लिएको भत्ता समेत ‘बेरुजु भयो’ भनेर पछि फिर्ता गर्नुपर्यो । बैठकभत्ता, कपडा लगायतका सबै सुविधाको रकम फिर्ता दियौं ।

