काठमाडौं – रोजगारी, जनजीविका र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ ।
आर्थिक सर्वेक्षण २०७७÷०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको बिवरणले देखाएको छ ।
विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको देखिन्छ ।
निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि विदेशिएको छ । पहाडका अधिकांश भूभाग बाँझो रहेको छ ।
नेपालको कूल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत बराबरको जमिन बाँझो रहेको छ । झण्डै रु ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ । यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ ।
दैनिक दुई हजारको सङ्ख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । अनौपचारिक तथ्याङ्कअनुसार झण्डै ४० लाख युवा विदेशमा रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आप्रवाह भएको रकमको झण्डै ७५ प्रतिशत बराबर हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ ।
विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ । भन्सार विभागले चालू आवको पहिलो नौ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् ।
कोदो, धान, मकै जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुक बाहिर गएको देखिन्छ । चालू आवको पहिलो नौ महिनाका अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
एक अर्ब बढीको अङ्गुर आयात
चालू आवको चैत मसान्तसम्म एक अर्ब ६४ करोड ६५ लाख २४ हजारका दुई करोड ४० लाख आठ हजार ९५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु आठ करोड ३४ लाख ६२ हजारर राजस्व सङ्कलन गरेको जनाएका छ ।
पाँच अर्ब ५६ करोडको स्याउ आयात
विभागका अनुसार चालू आवको चैत मसान्तसम्म रु पाँच अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको छ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।
स्याउ चीन सबैभन्दा धेरै मुलुकमा भित्रिएको तथ्याङ्कमा देखिन्छ । चीनबाट मात्र चार अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख गरिएको छ ।
केरा आयातबाट एक अर्ब ३१ करोड बाहिरियो
नेपालीले नौ महिनाका अवधिमा रु एक अर्ब ३१ करोड १८ लाख एक हजार बराबरको केरा आयात गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल चार करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु १३ करोड ६९ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
सुन्तलाको आयातबाट एक अर्ब २० करोड बाहिरियो
विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै रहेको छ । नौ महिनाको अवधिमा मात्रै रु एक अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको दुई करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ ।
अनार आयातबाट एक अर्ब एक करोड ४७ लाख १६ हजार
त्यस्तै चैत मसान्तसम्म ९७ लाख ८८ हजार ७६३ केजी अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब एक करोड ८४ लाख ७६ हजार रकम बाहिरिको छ । खरबुजा एक करोड तीन लाख ४७ हजार ८६० केजी बराबरको आयात भएको छ । सो खरबुजाको आयात मूल्य रु २७ करोड ४३ लाख १४ हजार बराबर छ ।
मेवाको आयातबाट १६ करोड ५२ लाख बाहिरियो
नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालू आवको नौ महिनामा ४७ लाख १६ हजार ८६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य मात्रै रु १६ करोड ५२ लाख २६ हजार बराबर छ ।
नास्पाती आयातबाट १३ करोड ५० लाख बाहिरियो
नास्पाती १९ लाख ६६ हजार १९ केजी रु १३ करोड ५० लाख ६७ हजार बराबरको आयात भएको छ । भुँइकटहर २३ लाख ६४ हजार ६६६ किलो रु १० करोड ६० लाख ९१ हजारको आयात भएको छ ।
किबी आयातबाट चार करोड ६३ लाख बाहिरियो
व्यावसायिकरुपमा खेती गर्न सकिने किबी एक लाख ९६ हजार ७२ किलो आयात भएको छ । त्यसको आयात मूल्य रु चार करोड ६३ लाख ७३ हजार आयात मूल्य देखिन्छ । एक लाख ५६ हजार ४५९ किलो एभोगाडो रु चार करोड ३८ लाख ३६ हजार बराबरको आयात भएको छ ।

