काठमाडौं – ‘काठमाडौंका जनजनको चाहना, यसपालि मेयरमा दिदी सिर्जना’ लेखिएको व्यानरसहित सिर्जना सिंह काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन सोमबार राष्ट्रियसभा गृह पुगेकी थिइन् । सिर्जना सँगसँगै थिए, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह ।
असिन पसिन प्रकाशमान नेता कार्यकर्ताको अभिवादन फर्काउँदै सिर्जनाको उम्मेदवारी दर्ता गर्न पुगेका थिए । सिंहले पत्नी सिर्जनालाई उम्मेदवारी दर्तामा जसरी साथ दिए, कांग्रेसबाट मेयरको टिकट दिलाउन त्योभन्दा बढी कसरत गरेका थिए ।
नभए सिर्जनाको ठाउँमा तीर्थराम डंगोलको उम्मेदवारी सोमबार दर्ता हुन सक्थ्यो । किनकि सभापति शेरबहादुर देउवाको रोजाइमा मेयरका उम्मेदवार डंगोल नै थिए । देउवा निकट नेताहरुका अनुसार उनले डंगोललाई आश्वासन दिइसकेका थिए ।
प्रकाशमानकै समूहका वर्तमान उपमेयर हरिप्रभा खड्गी, काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष एवम् कांग्रेसको महानगर समितिका सभापति निलकाजी शाक्य र नगर समितिका सचिव सुशन बैद्य मेयरमा दावेदार रहेका थिए ।
तर जब उम्मेदवारको दौडमा सिर्जनाको प्रवेश भयो, अरुको दाबेदारी स्वतः कमजोर जस्तै बन्न पुग्यो । निलकाजी र हरिप्रभाले ‘सिर्जना होइन, म उठ्छु’ भन्ने आँटसम्म गरेनन् । नेताहरुका अनुसार निलकाजीले त ‘यदि सिर्जना भाउजु उठ्ने हो भने म त दाबी नै गर्दिनँ’ भने । महामन्त्री गगन थापा पक्षले सुशन वैद्यलाई उम्मेदवार बनाउन चाहन्थ्यो । तर सभापति देउवाले सुन्नै चाहेनन् ।
उम्मेदवारबारे प्रारम्भिक छलफल हुँदा नहुँदै सभापति देउवाले ‘प्रकाशमानले झगडा गरेर गएको छ’ भनेपछि सिर्जना मेयरको उम्मेदवार बन्ने पक्काजस्तै भएको थियो ।त्यसैले ललितपुर र विराटनगरको मेयरका उम्मेदवारबारे पार्टीभित्र लम्बेतान छलफल हुँदा सिर्जना सिंह निर्विकल्पजस्तै बन्न पुगएकी छन् ।
देउवाले फर्काएको गुन
टिकट वितरणको अधिकार संसदीय समितिबाट आफूमा लिएका सभापति देउवा मंसिर २०७८ मा संकटमा थिए । १४औं महाधिवेशनमा देउवाले सभापति दोहोरिन ५० प्रतिशत मत कटाउन सकेनन् । देउवापछि धेरै मत ल्याएका डा. शेखर कोइरालालाई सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले साथ दिएको भए दोस्रो चरणको नतिजा देउवाका निम्ति प्रतिकुल बन्न सक्थ्यो ।
किनकि महाधिवेशनमा एउटै प्यानल बनाउन छलफल गरेका डा. शेखर, प्रकाशमान र विमलेन्द्रबीच दोस्रो चरणमा पुगे दोस्रो हुनेलाई साथ दिने विषयमा छलफल पनि भएको थियो । तर सिंह आफ्नै अडानमा टिक्न सकेनन् ।
२८ मंसिरमा आफ्नै निवास चाक्सीबारीमा आएका देउवालाई सिंहले समर्थनको वचन दिए । १२औं महाधिवेशनपछि ‘देउवा इतर’ पक्षमा रहेका सिंहको निर्णय देउवाका लागि सञ्जिबनी बुटी बन्यो । निधि र कल्याण गुरुङले पनि साथ दिएपछि देउवा फेरि सभापति चुनिएको थियो ।
नेताहरुका अनुसार, त्यो बेला देउवा समूहका नेताहरुले दिएको आश्वासन र देउवाकी पत्नी आरजुसँग सिर्जनाको सम्बन्धका कारणले सिंह देउवालाई समर्थन गर्न राजी भएका थिए ।
सभापति देउवाले पनि सभापति निर्वाचित भएको ५ महिना नपुग्दै सिर्जनालाई काठमाडौंको मेयरको उम्मेदवार बनाएर प्रकाशमान र सिर्जनाको गुन तिरेका छन् ।
सिर्जना भने पार्टीमा आफ्नो योगदान रहेको जिकिर गर्छिन् । प्रकाशमानले सभापति बन्न देउवालाई सघाएको कारण मेयरको टिकट पाउनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘म गणेशमान सिंहको बुहारी हुँ, मंगलादेवीको बुहारी पनि हुँ ।
प्रकाशमानको श्रीमती पनि हुँ । यो लुकाएर छिपाएर छिप्ने कुरा होइन । तर प्रकाशमान सिंहलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नै राजनीतिक योगदान छ । यो देशमा प्रजातन्त्र ल्याउन, महिलाहरुको उत्थान गर्न संघर्ष गरेको छु ।’
फेरि सक्रिय राजनीति
मेयरको टिकट पाएसँगै सिर्जना करिब ३२ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी छन् । सिर्जनाले पञ्चायती शासन व्यवस्थामा सक्रिय राजनीति गरेकी थिइन् । २०३३ सालमा कांग्रेसमा आवद्ध भएकी सिर्जना २०३५ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसको इकाइ सभापति बनिन् ।
बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन गर्ने क्रममा २०३७ सालमा उनी गिरफ्तारीमा परेकी थिइन् । महिलाका तर्फबाट २०३६ सालमा बहुदलीय प्रचार प्रसार समितिको गोरखा जिल्ला अध्यक्ष बनेकी थिइन् । २०३९ सालमा शंकरदेव क्याम्पसमा पम्फा भुसाललाई हराएर स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
२०४२ सालमा कांग्रेस, काठमाडौंका नेता प्रकाशमानसँग बिहे गरेपछि भने राजनीतिक सक्रियता घट्यो । विवाह पश्चात् सक्रिय राजनीतिमा कमी आएको सिर्जना स्वीकार गर्छिन् । ससुरा गणेशमान सिंह, सासु मंगलादेवी सिंह तथा पति प्रकाशमान सबै बहुदलीय व्यवस्थाका लागि आन्दोलनमा लाग्न पारिवारिक वातावरण आफूले निर्माण गरेको उनको दाबी छ ।

