टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक वडाध्यक्ष जितिसकेका उनले यसपालि पनि स्थानीय तह निर्वाचनमा वडाध्यक्षकै लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
‘प्रत्येक चुनावमा राजनीतिक दलहरूले टिकट लिन आग्रह गर्छन्, पार्टीबाट उठेपछि दोहोरो मार पर्छ,’ ललितपुर महानगरपालिका–१० का निवर्तमान वडाध्यक्ष व्यञ्जनकार भन्छन्, ‘वडाध्यक्ष भनेको जनताको सेवा गर्नु हो । पार्टीको टिकट लिएपछि जनताको मात्र सेवा गरेर पुग्दैन, नेताको पनि चाकरी गर्नुपर्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’ पार्टीबाट चुनाव जित्दा आफ्नो हक अधिकार नेताको स्वार्थमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
२०४९ मा कांग्रेसले टिकट दिँदा उनी निर्विरोध नै चुनिएका थिए । यतिका वर्षसम्म मतदाताले निरन्तर रुचाइरहनुमा उनी भ्रष्टाचार र जनताको काममा ढिलासुस्ती नगर्नुलाई प्रमुख कारण ठान्छन् । जनतालाई दिएको सुख सम्झेर भोट पाउने गरेको उनले सुनाए । ‘वडा कार्यालय राजनीति गर्ने ठूलो होइन, जनताको सेवा गर्ने ठाउँ हो,’ ८१ वर्षीय व्यञ्जनकारले भने, ‘सामाजिक काम गर्ने धोको पूरा भएको छैन ।’

