विराटनगर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । जिल्ला अदालत मोरङको आदेशबाट उनी सोमबार धरौटीमा रिहा भएका छन् ।
२०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो ।
खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा रहेका छन् ।
उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको हो ।

