गोरखा – २०७४ को चुनावमा चुमनुब्री गाउँपालिका वडा नं. ६ बाट लोप्साङफुञ्जो लामा निर्विरोध वडाअध्यक्ष बनेको छ । पाँचवर्षको अनुभवपछि अहिले उनले छोरालाई काँध फेरेका छन्।
सोमबार सकिएको मनोनयन दर्ताको अवधिमा सो वडाबाट माओवादी केन्द्रबाट २८ वर्षका ल्हाक्पा छिरिङ लामा(सरोज)को मात्र उम्मेद्वारी परेको निर्वाचन अधिकृत नानीवावु पोखरेलले जानकारी दिए।
उनले भने,‘तर निर्वाचन कार्यक्रम अनुसार मात्र औपचारिक घोषणा गर्न मिल्छ’। उनलाई निर्विरोध वडा अध्यक्ष बनाउने बारे एक महिना अघि नै घरसल्लाह र गाउँसल्लाह भएको थियो। ‘बुबाले म पनि बुढो हुँदै गएँ।
बिरामी पनि भइरहन्छु। अब तँ अघि बढ्नु पर्छ भन्नुभयो। उता कांग्रेसले पनि अब युवालाई अघि बढाउनु पर्छ भनेर सल्लाह गरिरहेको थियो’, उनले भने, ‘अनि बुबाले गरेको प्रस्तावमा माओवादी र कांग्रेस दुवैको सहमति भयो।’ माओवादीबाट वडाअध्यक्षसहित दुईजना र कांग्रेसबाट पनि दुईजना सदस्य मिलाएर उम्मेद्वारी दर्ता गरिएको उनले बताएको छ ।
केन्द्रमा पनि गठबन्धनको कुरा थियो। गाउँमा पनि मिलेर जानुपर्छ भनेर दुई–दुईजना मिलाएर उम्मेद्वारी दर्ता गरिएको कांग्रेसका स्थानीय नेता गोपाल लामाले बताएको छ । २०५१ सालमा जन्मिएका लामा बाबुको प्रेरणाबाट राजनीतिमा लागेका हुन्।
गोरखा सदरमुकाम बसेर कक्षा १२ सम्म उर्तीण गरेका उनी गाउँमै इन्टरनेट सेवा, होटल ब्यवशाय र समाजसवेवा गर्दै आएका छन्। उनको टिममा कांग्रेसबाट निर्विरोध सदस्य बनेका सोनाम लामा पनि छन्। उनीहरु एउटै उमेर समूहका मिल्ने साथी हुन्। सोनामले सवओभसियरको कोर्श पूरा गरी बसेका छन्।
‘अब युवा मिलेर केही गर्नुपर्छ भनेर गाउँमै सल्लाह गरेर कांग्रेसबाट पनि मेरो साथी सदस्य भएको छ’, उनले भने। दुई युवाहरु मिलेर गाउँको बिकासको नेतृत्व गर्ने योजना रहेको अध्यक्ष लामाले बताएको छ । त्यस्तै डोल्मा लामा, ठिले ग्याम्जो लामा पनि निर्विरोध सदस्य चयन भएका छन्।

