बुटवल – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो ।
परीक्षण उडानपछि अब अन्य मुलुकले पनि चार्टड फ्लाइट गर्नसक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले बताएका छन् ।
गौतमवुद्ध विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाए ।
यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा रहेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले समेत आवश्यक तयारीको काम गरिरहेको छ ।
अन्तर्राष्ट्रिय उडानको लागि पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले चासो दिएको थियो। सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ ।
यस्तै, नेपाल वायुसेवा, सलाम एयर, थाई स्माइल, श्रीलंकन एयर, कतार एयर, फ्लाई दुबई, गो एयर, गल्फ एयर, एयर बीच र ओमन एयरले पनि चासो देखाएका छन्।

