पोखरा – पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरे । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ रहेको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले दुई दिन बिदा पर्यटनका लागि सुखद समाचार रहेको बताउँछन् । अरु देशमा पनि यस्तो अभ्यास रहेकोमा नेपालले ढिलो गरी यसलाई पछ्याएको उनी बताउँछन् ।
यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताएको छ । पोखरामा हिजोआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन् । विस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ ।
पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् । पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेको छ । अहिले व्यवसायीहरूले लगानी बढाएका छन् भने साहसिक खेलकुदका गतिविधि थपिएको छ।

