काठमाडौं – महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन रहेको छ ।
तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् ।
गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको बताउने भट्टराई भन्छन्, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ ? प्रचण्डजीको ह्वीप लाग्छ ? मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन् ।’
अहिले पनि एमाले दक्षिण एसियाकै बलियो पार्टी भएको भन्दै उनले आगामी चुनावमा ५० लाख बढी मत ल्याउने दाबी गरेको छ । ‘…हाम्रो मत ५५ लाख हुन्छ । यसमा माधव नेपालले लैजाने एक/दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ’, भट्टराई भनाइ रहेको छ ।
स्थानीय चुनावमा साझा उम्मेदवार तयार पार्ने सत्तारुढ गठबन्धनको निर्णयमा देखिएको समस्याले एमाले खुशी होला, हैन ?
गठबन्धनको निर्णयले एमाले खुशी वा निराश हुने हुँदैन । एमाले आफ्नै राजनीतिक आधारमा अडिएको पार्टी हो । कार्यकर्ता र जनतामा आधारित दक्षिण एसियामा अहिले दुई ठूला र बलिया पार्टी छन्, भारतमा बीजेपी र नेपालमा एमाले ।
दुवै पार्टी सुदृढ संगठनात्मक संरचना भएका पार्टी हुन् । एमाले अचानक बनेको पार्टी होइन । पार्टी निर्माणकै क्रममा सात दशक बितायौं । यो सात दशकमा एमाले समाजका प्रत्येक अंग प्रत्यंगमा पुगेको छ ।
एमाले टुप्पोबाट फलेको पार्टी होइन, यो जगबाट बनेको पार्टी हो । सानातिना झोक्काहरुको सामना एमालेले गर्दै आएको छ र गर्छ । आज पनि एमाले त्यत्तिकै बलियो पार्टी छ । त्यसैले एमालेलाई हराउने एक मात्रै उद्देश्यले गठबन्धन बनेको छ ।
एमाले दक्षिण एसियाको बलियो पार्टी थियो होला ? र आज पनि रहेको छ । जनसंख्याका हिसाबले हामी भन्दा बांग्लादेश, पाकिस्तान ठूलो रहेको छ । त्यहाँका पार्टीहरुको सदस्यता बढी होला । तर जनसंख्याको अनुपातका हिसाबले एमाले बलियो पार्टी हो ।
तर आज एमाले विभाजनको पीडा खेपिरहेको छ त ? आधारभूत हिसाबले एमाले विभाजित भएको छैन । मात्रात्मक हिसाबले विभाजित छ । सिद्धान्तको हिसाबले एमाले विभाजित छैन ।
एमालेबाट अलग हुनेहरुले पृथक सिद्धान्त बोक्नु भएको छ र ? जनताको बहुदलीय जनवाद हुँदै समाजवादमा जाने लक्ष्य हो, माधव नेपालले लिएको पनि र सगौरव एमालेकालीन अवस्थाको उपलब्धिको श्रेय आफूले पनि पाउनुपर्छ भनिरहनुभएको छ ।
संगठनात्मक हिसाबले अलग पार्टी बनाउन संविधान र कानूनले संसदीय दल र पार्टी केन्द्रीय कार्य समितिमा ४०/४० प्रतिशत चाहिने थियो । तर ४० प्रतिशत पुर्याउन नसकेर २० प्रतिशतको सुविधा दिइयो ।
त्यसो हुनाले संगठनात्मक रुपमा एमाले विभाजित भयो भन्न म सक्दिनँ । जनमतको कुरा गर्दा गएको चुनावमा एमालेले ३२ लाख लोकप्रिय मत पाएको हो । यसपटक ३६ लाख मतदाता थपिएका छन् । त्यसमा ८० प्रतिशत २३ वर्ष उमेर समूहका छन् । अहिले देशभर कुनै राजनीतिक कार्यक्रममा क्रेज छ भने त्यो एमालेमा देख्नु हुन्छ ।
तपाईँले त अहिलेसम्म कुनै पनि दलले ल्याउन नसकेको मत संख्याको पो दाबी गर्नुभयो त ?
हामी त्यसै हावामा राजनीति गरेका छैनौं । हाम्रो आधार, वर्ग, उमेर समूह, सामाजिक बनोटमा एमाले कहाँ छ, पहाड र मधेशमा कति छौं जस्तो विगतका ट्रेन्ड हेर्छौं । जस्तो– २०७० सालको चुनावमा अशोक राई लगायत कमरेडहरुले पार्टी छोड्नुभयो ।
त्यसबेला एमाले जनजाति विरोधी पार्टी भनेर अभियान नै चलाइयो । त्यसको असर पूर्व र गण्डकी प्रदेशमा ज्यादा परेको थियो । तर नतिजा भने ताप्लेजुङदेखि सोलुखम्बु र ओखलढुंगासम्म, उता पर्वत, कास्की, लमजुङ, बाग्लुङ जस्ता जनजाति बहुल क्षेत्रमा ९० प्रतिशत एमालेले जितेको छ । 
गठबन्धनको शक्ति पनि आँकलन गर्नु भएकै होला ?
बहुदलीय प्रतिस्पर्धाको राजनीतिक सिद्धान्तमाथि नै गठबन्धनले धावा बोलिरहेको छ । अरुलाई त भन्दिनँ, माओवादीको बहुदलीय प्रतिस्पर्धामा धेरै लगाव पनि होइन । माधव नेपालजीको पहिलेबाटै लगाव हो ।
तर कांग्रेसलाई भन्छु– जसको जन्म नै बहुदलीय व्यवस्थालाई आदर्श मानेर भयो । आज त्यो पार्टी बहुदलीय प्रतिस्पर्धाका न्यूनतम आधारभूत कुरालाई छोडिरहेको छ ।
बहुदलीय व्यवस्था भनेको प्रतिस्पर्धाको व्यवस्था हो । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने र श्रेष्ठता हासिल गर्नेले शासनको बागडोर सम्हाल्ने होइन । आज कांग्रेस त्यो सिद्धान्त र जगमा उभिएको छ ? कांग्रेसले त लिक छोडिसक्यो ।
त्यसैले एमालेको काँधमा अरु दायित्व थपिएको छ । खासगरी कांग्रेसले बोकिरहेको उदार लोकतान्त्रिक स्पेस संकटमा छ । कांग्रेसले त्यो ठाउँ गठबन्धनकै कारणले गुमाउँदैछ । कालो कांग्रेस, चैते कांग्रेसको कुरा नगरौं, सच्चा कांग्रेसले लिक छोडिरहेको छ ।
उनीहरुले उदार लोकतान्त्रिक शक्ति त बनाउन सक्दैनन् । त्यो सच्चा लोकतान्त्रिक मान्छेलाई एमालेले संरक्षण दिनुपर्छ । माओवादीभित्र पनि दलाल पुँजीवादसँग लडिरहेको वामपन्थी, प्रगतिशील तप्का छ । त्यो पंक्ति कांग्रेससँग मिलेर समाजवादसम्म पुगिन्छ भन्नेमा विश्वास गर्दैन ।
गठबन्धनका नेताहरू तालमेल मिलाए पुग्छ भन्ने मुडमा देखिन्छन् । तर एमाले नेताहरु असिन–पसिन देखिन्छन् । यो डराएको, आत्तिएको प्रमाण होइन र ?
ब्रह्माले मान्छे बनाउन खोजे । त्यसका लागि विभिन्न ठाउँबाट एउटा एउटा चिज ल्याएर जोडे, तर त्यो मान्छे नभएर ऊट बन्यो । गठबन्धन त्यस्तै हो । जोडजाडले एउटा शक्ति त हुँदैन । त्यसको आयतन अलिकति ठूलो देखिन्छ । तर, त्यसमा इम्युनिटी पावर हुँदैन । गठबन्धनसँग प्रतिरोधात्मक क्षमता रहेको छैन ।
कहिलेकाँही विभिन्न टिमका खेलाडी ल्याएर टिम बनाइन्छ । तर खेलाडीहरुबीच पास दिने तालमेल हुँदैन । एउटा टिमभित्र पो खेलाडीको सन्तुलन हुन्छ । गठबन्धनभित्र के मिल्छ ? केही मिल्दैन ।
एमालेले पनि साना दलहरुसँग तालमेल गरेको छ त ?
एक प्रतिशत होला । कांग्रेसले त हरेक प्रचार सामग्री नै सुधार्नुपर्छ । एमालेले पर्दैन । एमालेले सात सूर्य, सात छाप भनेर प्रचार गर्छ । ९९ सय प्रतिशत ठाउँमा हामीले भन्ने यही हो । तर कांग्रेसले सात रुख, सात छाप भनेपछि भरतपुरमा के हुने ? पोखरामा के हुने ? इटहरी र धरानमा के हुने ? सयौं ठाउँमा के हुने ? त्यसैले कांग्रेसले केन्द्रीय प्रचार सामग्री नै बनाउन सक्दैन ।
प्रचार सामग्री बनाउन सजिलो होला । तर ०७४ को चुनावी नतिजा हेर्दा त परिणाम अर्कै आउने सम्भावना बढी देखिन्छ नि ?
हेर्नुहोस्, डोनाल्ड ट्रम्पको भन्दा हिलारी क्लिन्टनकै इक्जिट पोल राम्रो थियो । ट्रम्पले चुनाव जितेको छ । मिडियाको प्रोजेक्सनमा त हिलारी नै थिइन् । दोस्रोपटक पनि त्यस्तै थियो । त्यसैले यस्ता कुरा चुनाव अगाडि समाचार खपत गर्ने कुरा हुन् ।
म सबै इक्जिट पोल गलत हुन्छ भन्दिनँ । तर कहिलेकाहिँ मिडियाले पनि अनुमान नै लगाउन सक्दैन । मलाई विश्वास छ, नेपालको मिडियाले एमालेको नाडी पक्कै छामेको छ ।

