विराटनगर – सिटी सफारी, अटो टेम्पोलगायतका तीन चक्के सवारीसाधन चोरी गर्ने गिरोहलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । चोरी गरिएको सफारीसहित गिरोहका तीनजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएको छ ।
उनका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद जुमन, विराटनगर–११ का ३४ वर्षीय मोहमद अन्सारुल र विराटनगर–१२ का २२ वर्षीय पवन रविदास छन् ।
चोरी गरेको ब्याट्री, अटो र दुईवटा सफारीसहित उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले पक्राउ गरेको छ ।
विराटनगर–६ रामपुरमा को २ ह ३६१० नम्बरको अटो टेम्पोको पाँच थान ब्याट्री चोरी गर्दै गरेको अवस्थामा प्रहरीले गत शुक्रबार उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा उनीहरुले त्यसअघि नै विराटनगर १ ह ००९३ र को १ ह ७८१८ नम्बरको सिटी सफारी चोरी गरेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएको छ ।
उनका अनुसार पक्राउ परेकाविरुद्ध चोरी मुद्दामा आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने भएको छ । मोटरसाइकल, सफारी लगायतका सवारीसाधन चोरी हुने क्रम बढेपछि नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको कोइरालाले बताएको छ ।
‘सवारीसाधन चोरी गर्नेमाथिको कारबाही तीव्र पारिएको छ,’ उनले भने, ‘विशेष टोली परिचालन गर्दै सबै ठाउँमा निगरानी बढाइएको छ ।’

