नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा श्रमजीवी नेपाली जनताको नाममा शुभकामना संदेश प्रेषित गर्नु भएको छ । उक्त सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै वहाँले भन्नु भयो, ‘आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षको दिन १ मईलाई नेपाल लगायत विश्वभरका मजदूरहरुले मई दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली श्रमजीवि वर्गको पक्षमा लड्ने हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) यस ऐतिहासिक दिनमा नेपाल सहित विश्वका सम्पूर्ण श्रमजीवि वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछ ।’
सन्देशमा भन्नु भएको अध्यक्ष प्रचन्डले भन्नु भएको छ, ‘नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजीवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । महान् जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनहरुमा ग्रामिण क्षेत्रका किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।’
सन्देशमा वहाँले थप्नु भएको छ, ‘नेपाली श्रमजीवि जनसमुदायको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि हामी स्थानीय तह निर्वाचनको संघारमा छौं । आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवम् श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।’
शुभकामना सन्देशको अन्तमा प्रचण्डले भन्नु भएको छ, ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई विशेष आग्रह गर्दछु । संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
शुभकामना संदेश:


