अछाम – स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएकाे भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ ।
नेकपा एमालेको केन्द्रीय नेतृत्व र जिल्ला तहले पटक पटक ताकेता गरेर बागी उम्मेदवारी नदिन निर्देशन दिंदा पनि आफ्नो कारवाहीलाई बेवास्ता गरी बागी उम्मेदवार बनेका एमालेका कार्यकर्ताहरु पार्टी पंक्ति प्रति कति असन्तुष्ट रहेछन भन्ने प्रमाण एमालेका बागी उम्मेदवारहरुले दिएका छन् । केन्द्रले कारवाही गरेपनि गरुन तर हामीले केन्द्रको अत्याचार सहदैनौ भन्दै उनीहरुले बागी उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीले असल र ईमान्दार कार्यकर्ता हरुलाई बेवास्ता गरि घुषखोरी, भ्रष्टाचारी, दलाल र माफिया तथा गुण्डाहरुलाई टिकट दिएर अन्याय गरेकाले त्यसको बिरुद्ध बिद्रोह गर्नका लागि हामीले उम्मेदवारी दिएका हौँ भन्ने धेरै जसो बागी उम्मेदवारी दिएका र केन्द्रिय नेतृत्व प्रति असन्तुष्ट एमाले नेताहरुको भनाइ छ ।
साँफेबगर नगरपालिका-६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । तर बागी उम्मेदवारी दिएका उक्त नेताहरुले चाहिँ साँफेबगर-६ का जनताले उनीहरुलाई नै भारी मत दिएर विजय गराउने कुरामा ढुक्क भएको कुरा बताउँछन् ।
त्यस्तै,साेही नगरपालिका-१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका-५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका-९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त साँफेबगर-१ मा बागी उम्मेदवारी दिएका नेताहरुले समेत जनताले नै हामीलाई उम्मेदवारी दिन भनेकाले हामीले उम्हामेदवारी दिएका हौँ , त्यसकारण हाम्रो जित निश्चित छ भनिरहेका छन् ।

