चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखे ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनी बसेको भरतपुरको एक होटलमा पुगेका उनले उम्मेदवारी फिर्ता नलिने अडान राखे ।
वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए । उनले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
भेटपछि कुरा गर्दै बागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न रामचन्द्र पौडेलले आग्रह गरेको तर आफूहरूले नमानेको बताएको छ ।
‘उहाँले आफ्नो कुरा गर्नुभयो, हामीले धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बतायौं,’ पौडेलले भने, ‘हामी कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गर्याैं ।’
प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किए । देउवासँग भेट्नु भएन त ? भन्ने प्रश्नमा पौडेलले भने, ‘हामी जाँदा उहाँ रेडी भए जस्तो लागेन, भेट्न खोजेको भन्ने कुरा आएको थियो तर हामीसँग उहाँलाई कुर्ने समय थिएन, हामी निस्कियौं ।’
पौडेलसँगको भेटमा सहभागी कांग्रेस नेतृ खरेलले पनि कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने कुरा स्पष्टसँग राखेको बताइन् । ‘पौडेलले कुरा गरौं भनेर कर गरेकाले भेटेका हौं,’ खरेलले भनिन्, ‘हामीले हाम्रो पोजिसन क्लियर गरेका छौं ।’
नेपाली कांग्रेसका नेता पौडेलले भने जगन्नाथसँग भेट भएको तर सहमति वा निर्णय भइनसकेको बताएको छ । पौडेलले भने, ‘कुरा हुँदैछ । सहमति वा निर्णय केही भइसकेको छैन ।’
आफूलाई भेटेपछि जगन्नाथले एकजना मान्छेलाई समय दिएको छु भनेर गएको र नफर्किएको पौडेलले बताएको हो । उम्मेदवार पौडेलले भने आफूहरू होटलबाट निस्केर नियमित चुनावी कार्यक्रममा लागेको बताएको हो ।

